काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएसँगै एथर नेपालले आफ्नो नेटवर्क विस्तार गरेको छ। एथर इनर्जीको नेपालका लागि अधिकृत वितरक वैद्यज इनर्जी प्रालिले धरान–१, छाता चोकमा एथरको नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो।
भदौ १७ गते कार्यवाहक मेयर ऐन्द्रविक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा उद्घाटन गरिएको नयाँ सेन्टरसँगै नेपालमा एथरका एक्सपिरियन्स सेन्टरको संख्या १३ पुगेको कम्पनीले जनाएको छ।
काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोडलगायतका प्रमुख शहरमा उपस्थिति विस्तार गरिसकेको एथरले धरानमा सेन्टर सञ्चालनमा ल्याएसँगै पूर्वी नेपालका ग्राहकलाई आफ्ना उत्पादन तथा प्रविधि नजिकबाट अनुभव गर्ने अवसर उपलब्ध भएको जनाएको छ।
धरानस्थित एक्सपिरियन्स सेन्टरमा ग्राहकले एथरको ४५० सिरिज, ४५० एक्स ओभरटोन सिरिज तथा रिज्टा हेर्न र टेस्ट राइड गर्न सक्नेछन्। नयाँ पुस्ताको ४५० सिरिजमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस इन्टर्याक्सनजस्ता प्रविधि उपलब्ध रहेको कम्पनीको भनाइ छ।
यसैबीच, एक्सपिरियन्स सेन्टरको औपचारिक उद्घाटन हुनुअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ। यसले धरान तथा आसपासका क्षेत्रमा प्रिमियम विद्युतीय स्कुटरप्रति ग्राहकको चासो बढिरहेको देखाएको कम्पनीको दाबी छ।
धरान सेन्टरको उद्घाटन अवसरमा भदौ २३ गतेसम्म विशेष ओपनिङ स्किम समेत उपलब्ध गराइएको छ। ग्राहकले एक्स्टेन्डेड ब्याट्री वारेन्टी, ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर वा थप ८ हजार रुपैयाँको भ्यालुएसन बेनिफिटमध्ये एक सुविधा छनोट गर्न सक्नेछन्।
एथरले नेपालमा बिक्रीपछिको सेवासमेत विस्तार गरिरहेको जनाएको छ। वैद्यज इनर्जीका अनुसार देशभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा छन् भने ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड निर्माण भइसकेका छन्।
एथरको ‘एटसेभेन्टी ब्याट्री वारेन्टी’अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै, फास्ट चार्जिङ ग्रिडमा उपयुक्त एथर स्कुटरलाई ० देखि ८० प्रतिशतसम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
धरानमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनसँगै पूर्वी नेपालमा एथरको बिक्री, सर्भिस र चार्जिङ पूर्वाधार थप विस्तार हुने कम्पनीले जनाएको छ।
वि.सं.२०८३ भदौ १८ बिहीवार १३:३८ मा प्रकाशित






























