१६ माघ, काठमाडौँ (रासस) । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले मुलुक संघीय संरचनाअनुसार अघि बढेको र तीन तहको सरकार भएकाले देशको आर्थिक व्ययभार बढ्नु स्वभाविक भएको बताएका छन् ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले देशको आर्थिक विकासका लागि नयाँ बन्ने सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
निजामति कर्मचारीको स्वेच्छिक अवकाश र ६५ वर्ष पुगेकालाई वृद्ध भत्ताको नाममा मुलुकमाथि करिब साढे पाँच खर्बको थप दायित्व बढेको बताउँदै पूर्वउपाध्यक्ष क्षेत्रीले अब बन्ने सरकारले जनताको हितमा निर्णय गर्नुपर्ने र धेरै महत्वाकाङ्क्षी तथा खर्च गर्न नसक्नेमा हात हाल्न नहुने सुझाव दिए ।
अर्थविद् डा शंकर शर्माले अवैध धनलाई प्रोत्साहन गर्न नहुने उल्लेख गर्दै वैदेशिक लगानी ल्याउन, रोजगारी सिर्जना गर्न र उद्योग व्यवसायको प्रवद्र्धन गर्नका लागि राज्यले विशेष जोड दिनुपर्ने आवश्यकता औल्याए ।
अर्का अर्थविद् डा डिल्लीराज खनालले कालो धनलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिदैं नेपालमा पूँजीगत खर्च गर्न नसक्नु ठूलो समस्या रहेकाले अब गुणात्मक आर्थिक वृद्धि गर्नेतर्फ जोड दिनु पर्ने बताए ।