
४ फागुन, रामपुर, पाल्पा । तानसेनमा विहिबार देखि ‘१२ औँ पाल्पा महोत्सव तथा व्यापार मेला’ शुरु भएको छ ।
‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ नाराका साथ विहिबारदेखि शुरु भएको उक्त महोत्सव आउँदो फागुन १३ गतेसम्म चल्नेछ ।
पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको मेलामा ४०० व्यापारिक कक्ष रहेको छ । मेला अवधिभर रु दश करोड बराबरको कारोबार गर्ने तथा करिब तीन लाख दर्शक भित्र्याउने अपेक्षा रहेको मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए ।
महोत्सवमा उठेको रकममध्ये केही रकमले पाल्पाको पर्यटन क्षेत्रको विकास सँगसँगै टुँडिखेलको स्तरोन्नतिका लागि खर्च गर्ने लक्ष्य राखिएको उनले बताए । यस वर्षको मेलामा विगतको भन्दा फरक किसिमको व्यवस्था रहेको संघले जनाएको छ । स्थानीय खानाको परिकार, बाल उद्यान, कर्णेल उजुरसिंह थापाको पूर्णकदको सालिक, लोकसंस्कृति झल्कने गीत तथा नृत्यको महोत्सवमा प्रस्तुति रहने संघले जनाएको छ ।
प्रचारप्रसार कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक विष्णुमान बज्राचार्यका अनुसार पाल्पाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीयस्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र संघको बहुउद्देश्यीय भवन निर्माणका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिकस्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, टर्की चरा, उँट, अस्ट्रिज चरा, भूकम्प प्रतिरोधी घर निर्माणको प्रदर्शनी, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ ।