back
CTIZAN AD

लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि श्रेष्ठलाई

वि.सं.२०७४ फागुन १७ बिहीवार

936 

shares


१७ फागुन, लुम्बिनी । चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन् ।

कपिलवस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको ४२ किलोमिटरको दौड दुई घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पूरा गरी उनले सो उपाधि जितेका हुन् ।

शान्ति म्याराथन लुम्बिनी पिस म्याराथन प्राली र एडभेन्चर स्पोट्र्स नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त म्याराथनमा नेपाली सेनाकै हरिप्रसाद रिमाल र खगेन्द्र भट्टले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । रिमालले दुई घण्टा ५७ मिनेट २४ सेकेन्डमा र भट्टले तीन घण्टा तीन मिनेट ४० सेकेण्डमा उक्त दूरीको दौड पूरा गरेका थिए ।

बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्ना पितालाई पहिलो पटक भेटेको ठाउँ मानिएको कुदानबाट शुरु भएको दौड लुम्बिनी कपिलवस्तु क्षेत्रका विभिन्न बौद्य सम्पदास्थल निग्लिहवा, तिलौराकोट दरबार, बाणगंगा खोला, दोहनी हुँदै मायादेवी मन्दिर परिसरमा आएर समापन भएको थियो ।

सो अवसरमा प्रथम हुने श्रेष्ठले रु एक लाख राशिको ‘लुम्बिनी अशोका शान्ति’ पुरस्कार प्राप्त गरे । दोश्रो हुने रिमालले रु ७५ हजार राशिको कपिलवस्तु हुएनसान शान्ति पुरस्कार तथा तेश्रो हुने भट्टले रु ५० हजार राशिको मायादेवी मन्दिर उत्थान शान्ति पुरस्कार प्राप्त गरे ।

नेपाल, भारत, चीन, हंङकंङ, न्युजल्याण्ड, अमेरिका, जर्मनी, दक्षिण कोरिया, डेनलगायत देशको ९४ जना धावकको सो म्याराथनमा सहभागिता थियो ।

लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्स, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट, एडभेञ्चर स्पोट्र्स सोसाइटी नेपाललगायतका संस्थाले सो कार्यक्रमका लागि सहयोग गरेको जनाएको छ ।

हाफ म्याराथनको उपाधि पुनलाई

भारतीय सेनाका तीर्थ पुनले लुम्बिनी शान्ति म्याराथन २०१८ को हाफ म्याराथनतर्फको उपाधि प्राप्त गरेका छन् ।

त्यस्तै २१ किलोमिटर दौडका उक्त म्याराथनमा नेपाली सेनाका रामजी बस्नेत र टीकाराज कटवालले क्रमशः द्वितीय र तृतीय स्थान प्राप्त गरे ।

सो म्याराथनमा पहिलो, दोस्रो र तेश्रो हुनेले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

पाँच किमी दौडमा थापा प्रथम

सोह्र वर्षमुनिका पाँच किलोमिटर दौडको उपाधि सुनिल थापाले हात पारेका छन् ।

सञ्जय राई र सतेन्द्र यादवले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे। सो दौडमा पहिलो, दोस्रो र तेश्रो हुनेले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रमको पूर्वसन्ध्यामा स्वयम्भूदेखि लुम्बिनीसम्म ग्रेट बुद्धिष्ट ट्रेल साइकल यात्राको आयोजना गरिएको थियो । यात्रामा ५० भन्दाबढी साइक्लिस्टको सहभागिता थियो । (रासस)

वि.सं.२०७४ फागुन १७ बिहीवार १४:३९ मा प्रकाशित