
२७ फागुन, भक्तपुर। प्रदेश नंं २ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताएका छन् ।
आज भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा उनले आमनागरिकलाई माफियाले कामै गर्न नसक्ने अवस्थामा पु¥याएको बताएका हुन् ।
“सरकारी कार्यालयमा संस्थागतरुपमै भ्रष्टाचार भइरहेको छ, पैसा नखुवाइकन काम गर्नसक्ने अवस्था नै छैन, जहाँ गयो त्यहीँ भ्रष्टाचार हुन्छ,” मुख्यमन्त्री पौडेलले भने –“सारा माफियाको सञ्जाल फैलिएको छ, जहाँ गएपनि दलाललाई नसमातिकन काम गर्न सकिँदैन, सबै कार्यालय दलालीहरूले कब्जा गरेका छन् ।”
भ्रष्टाचारको जालोलाई च्यात्दै भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताउँदै उनले त्यसका लागि सबै लाग्नुपर्नेमा जोड दिए । सबैले प्रतिबद्ध भएर लागे देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिने बताउँदै मुख्यमन्त्री पौडेलले भने –“अबका दिनमा यो मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ, अब हामी बचन दिन्छौँ, भ्रष्टाचारबाट देशलाई मुक्त गर्छौँ ।”
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले आजदेखि नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा भएको बताउँदै नगरपालिकाले स्वास्थ्यको सबै जिम्मेवारी पुरा गर्ने बताए ।
कार्यक्रममा नगरपालिकाभित्रका १८ जना ज्येष्ठ नागरिक, दुईजना दलित नागरिक, स्वास्थ्य स्वयंसेविका लगायतलाई सम्मान गरिएको थियो ।
वि.सं.२०७४ फागुन २७ आइतवार १४:२९ मा प्रकाशित




























