
‘जननी जन्म भूमिष्चःस्वर्गादपि गरीयसि’ महाभारतमा युद्ध हुँदा अंगराज कुम्भकर्ण शेनापति भएर पाण्डप बिरूद्ध युद्ध लड्ने तयारी हुदै गर्दा भिष्म पितामहले त्यो मातृभूमि हस्तिनापुरलाई बचाउन सकिन्छ कि भनेर आफ्नो मृत्युको सुनिष्चित हुँदा हुँदै पनि कुम्भकर्णलाई युद्धबाट अलग राखेर मृत्युको कवच लगाएर अर्जुन बिरूद्ध युद्ध लडेका थिए । वास्तबमा परापूर्बकालबाट मातृभूभि प्रति दर्शाईएको समर्पणको ज्वलान्त उदाहरण हो, त्यो भन्ने लाग्छ । मेरो देश नेपाल जहाँ प्राकृतिले दिएको हिमालयको जीबन बुटी देखी, पहाडको हरियाली तथा बहुपयोगि बाँसघारी देखि तराईको उर्बर भाबर र चुरेले चिटिक्क सजाएको थियो ।
जब मानब बिकाससँगै समयले कोल्टो फेर्दै गयो अनि मान्छेका असिमीत ईच्छा र आकाँक्षाहरु पनि बृद्धि हुदै गयो । हो, तिनै बिशेष शासकहरूद्वारा आफ्ना स्वर्थलिप्त ईच्छा र महत्वकाँक्षा पूर्ति गर्ने उद्धेश्यले त्यो हिमालको बुटी बेचेर, खानाको लागि चामल दिने आश्वासन बाँडियो । तराईका चुरे भाबर र पबित्र नदिहरु बेचेर झलमल शहर बनाउने आश्वासन बाँडियो । तर, ति सपनाहरू केबल सपनामा र आश्वासनमा मात्रै सिमित रहे । अझैं पछिल्लो दशकतिर त पहाडतिरबाट राजनैतिक परिबर्तनको नारा दिदै हरियो बाँसघारी फाँडेर नयाँ बाँसुरी बजाउने आश्वासन र उर्दि नै चलाईयो । सारा बाँसघारी फाँडियो । अन्तत न रह्यो बाँस न बज्यो बाँसुरी । तिनै नबशासकको स्वार्थ पूर्तिको लागि चलाईएको उर्दिले मेरो देशको त बाँसघारी,कर्कलो घारी सबै फाँडीयो । त्यसभित्र पनि घरेलु युद्धको बिजारोपण गरियो । धेरैको भरिएको काँख रित्तियो र राजनैतिक परिबर्तन गर्ने र हराभरा मेरो देश बनाउने सपना उजाड बन्न पुग्यो । हा।े त्यै उजाड मेरो देश जगाउने सँकल्प गर्दै अबसर भनौ या बाध्यताले आसाको एक बिउ र हरियो अर्को बिरुवा खोज्न म जस्तै ३ लाख उर्जाशील युवाहरू खाडीको मरूभूमि र अन्यत्र बिदेश लाग्न बाध्य हुनुपर्यो ।
हामीलाई स्वदेशमा बस्नेहरुले आरोप लगाउदै सामाजिक सञ्जालमा लेख्छन्– ‘बिदेश गएर धन कमायो, अनि देशलाई बिस्र्यो र बिदेश बसेर राष्ट्रप्रेमको खोक्रो ढ्वाङ्ग फुक्छौ ।’ ती प्रश्नको म सँग एउटा मात्रै उत्तर छ –‘प्रकृतिको नियम तथा संसारिक चक्र चलाउन बिहे गरि श्रीमती भित्र्याउदैमा तपाँईले जन्म दिने आमालाई भूल्नु हुन्छ र ?’ माफ गर्नु होला मैले जीबनको अर्धाङ्गिनी गृहलक्ष्मी स्वरूप भित्र्याइएको श्रीमतीको गलत ब्याख्या गर्न खोजेको होईन । केबल आमा शब्दलाई न्यायोचित परिभाषा गर्न मात्र खोजेको हो । तिनै आमा हिजो एक श्रीमती भएर भित्रिएकी हुन र आमा भएकी हुन् । मेरो श्रीमती गृहलक्ष्मीको रूपमा भित्रिएकी पनि आज आमा भैसकेकी छिन् । यो एक चक्र न हो । अनि ति आरोप लगाउदै आई फोनबाट सामाजिक सञ्जालमा लेख्नेहरूलाई यो पनि आग्रह गर्न चाहान्छु, तपाँईले लेख्न प्रयोग गर्नु भएको त्यो महङ्गा साम्सुङ्ग र आईफोनमा खाडीको रगतको टाटा र बिदेशमा चुहाएको पसिनाको गन्ध होला ! कृपया एक पटक फर्काएर वा फर्किएर हेर्न अनुरोध गर्दछु । त्यो बिदेशको पसिनाको रेमिट्यान्सले देशमा रित्तेको अनिकालको भकारी भर्न पुर्याएको योगदान त परै जाओस् । मायाँ र महत्व नितान्त फरक बिषय हो । तपाँई सँगै रहनु भएको आमालाई एकपटक सोध्नोस्,आमा म, र बिदेशमा भएको त्यो भाईको कस्को बढि मायाँ लाग्छ र याद आउछ ? आमाबाट मलिन स्वरमा यस्तै समानता र न्यायको उत्तर पाउनु हुनेछ । ‘दुबै आफ्ना सन्तान माँया बराबर लाग्छ । तर, बाबु उ बिदेशमा छ याद चाँही घरि घरि उसकै आईरहन्छ ।’
हाम्रो राष्ट्रप्रेमको परिभाषा हामीले दिईसकेका छौ । जति बेला देशमा बिनाशकारी भूकम्प गयो । मेरो देशको ठूला–ठूला भौतिक भवन भत्कियो । तर, हाम्रो त यहाँ ति भबन भन्दा पनि ठूला र बिशाल मन नै भत्किएका थिए । त्यसैले होला तपाँईहरू त्रिपालमा अर्धनिदमा सुत्दै रात बिताउदा हामी त बिदेशका गल्लिहरूमा अनिदो नै सहयोगको झोली थाप्दै रात बिताएका थियौं, हामीलाई दिन रात दिन रात कसरी गयो पत्तै भएन् त्यतिबेला । मनमा थियो त केवल, कहाँबाट कसरी मेरो मातृभूमिको पीडामा मल्हम बन्न सक्छु । अर्को कुरा, म यो पनि आग्रह गर्न चाहान्छु । यदि तपाँई सच्चा राष्ट्र प्रेमको परिभाषा नै खोज्नु हुन्छ भने मात्र ६ महिनाको लागि काम गर्ने गरि बिदेश आउनु होला । अनि यसको पूर्ण परिभाषा गर्ने बोझिला शब्दहरू हामीले भन्दा पनि तपाँई आफैलाई नै आशिर्बाद प्राप्त हुनेछ ।
जीबनलाई ईन्द्रेणी जस्तै रंगिन बनाउने हो भने, सातवटा रंगको जरूरत पर्दछ । त्यो मध्य पाँच रंग मेरो देशमा छ भने बाँकि दुई रंग मैले बिकसित बिदेशको भूमिमा देखेको छु । त्यो दुई रंग हो एक श्रम तथा सीपको मुल्य र सम्मान । अर्को हो, समयको महत्व । म जस्तै अर्को एक समुह छन जो जीबनलाई ईन्द्रेणी जस्तै रंगीन बनाई आमाको मुहार हसाँउने उद्धेश्यका साथ मातृभूमी छाड्ने । एक प्रतिनिधि पात्र मात्र हुन् चर्चित पत्रकार प्रेम बाँनिया, नारायण श्रेष्ठ यस्ता हजारौ सर्जक र दक्षता यहि अभियानमा बिदेशिएका छन् । भौतिक सुखमा त रम्नेहरू प्रशस्तै होलान् बिदेशमा । तर, आत्मसन्तुष्टिले बाँच्ने को होला र ? प्रशस्त परिकार छन यहाँ । तर। मेरो देशको जस्तो स्वाद नै छैन् । नत गन्ध नै । मलाई लाग्छ, यहाँ मैले फेरिरहेको श्वास पनि मेरो देशको भन्दा फरक छ । बुढा र बुढी भेट्न साईत हेर्नुपर्ने यहाँ कहिले काँही त यस्तो लाग्छ, मन्दिरको किस्ता तिर्ने चापले काममा ब्यस्त भगवान पनि मन्दिरमा नभेट्दा भगवान पनि मेरे देशको भन्दा फरक छन कि जस्ता लाग्छ ।
अब त जननी र जन्मभूमी छाडेर यस्तै यस्तै सपना बोकेर आएको पनि एक दशक भैसके छ । मेरो जवानी त बिदेशको पसिनासँग बितेका पलहरुसँगै बिते । अब त उता आमालाई बुढेसकालले छोएर अनुहार चाऊरी परे जस्तै मातृभूमि पनि गलिसकेकी छन् की जस्तो लाग्छ । सगरमाथा जन्माएकी मातृभूमि, बुद्ध र बेद जन्माएकी मातृभूमि पछिला दिनहरुमा केहि कुपुत्रहरू कसरी जन्माइन् मन यहि सोच्न बाध्य हुन्छ । उत्तर आफैंसँग छैन्, अहिले तिनै कुपुत्रहरूले टोक्दा टोक्दै मातृभूमिको मुहार नै क्षत–बिक्षत भएर गलिसकेकी भान हुन्छ मलाई । तिनै कुपुत्रहरूले कतै बिदेशी बृद्धाआश्रमलाई जिम्मा दिने हो कि भन्ने चिन्ते रोगले पिरोलिरहेको छ ।
खै को बाट के आसा गर्ने ? सम्भाबना नै सम्भाबना बोकेको देश । नदी खोलाहरूबाट प्रशस्त उर्जा उत्पादन गरि बिदेश निर्यात गरि आयआर्जन गर्न सक्ने संभाबना भएको देश । आज नदि र खोला झोलामा बेचिईरहेकाछन् । लाखौ काँचो सुनरूपी युवाशक्ति बिदेशीको हातमा परेर आकर्षक गहनाका रुपमा बेचिइरहेका छन् । तर देश भने सलाई खल्तिमा राखी समृद्धिको आगो खोजिरहेको छ यतिबेला । त्यसैले अब अरूलाई कुर्नेवाला छैन । म, मलाई पनि त समयले कुरि रहन्छ र ? हो आज मेरो मातृभूमि जीवन मरणको दोसाँधमा तुलसीको मठमा अन्तिम श्वास फेर्दै भनिरहेको छ–‘बाबु प्रदेशी नौ जवानहरु हो, मातृभूमि फर्क । हिजो हनुमानले हिमालयबाट (मृत्युन्जय) जीबन बुटी बिदेश लगि लक्ष्मणलाई नयाँ जीबन दिएको देश । आज खाडी र बिदेशमा रहेका जीबन बुटीको प्रतिक्षामा अन्तिम श्वास फेरीरहेछ । यदि यो अन्तिम घडीमा प्रदेशी छोरा फर्किएन भने फेरी आमाले जस्तै मातृभूमिले पनि श्राप दिनेछीन् ।
फर्क नौ जवानहरु हो, समयको महत्व, श्रम, सीप र पूँजी सहितको जीबन बुटी लिएर फर्क । मातृभूमिलाई नयाँ जीबन दिनु छ, सप्तरंगी ईन्द्रेणीलाई स्वदेशको क्षितिजमा सजाएर नेपाल आमालाई हसाँउनु छ, फर्क ।
गोरखा घर भई अष्ट्रेलियामा कार्यरत लेखक, युवा समाज सेवी तथा सामाजिक अभियन्ता हुन ।
वि.सं.२०७४ चैत १२ सोमवार ११:४६ मा प्रकाशित



























