back
CTIZAN AD

आरनको पानी ओकल्दाको क्षण

वि.सं.२०७४ चैत १७ शनिवार

714 

shares

uday-gautam2

म बाहुन हो भन्ने कुरा जन्मेको धेरै पछि मैले थाहा पाएको कुरा हो । मैले बाहुन हुन पाउँ भनेर कहीं कतै हक दाबी पनि गरेको छैन । म जन्मदै बाहुन भएर जन्मेको हो अथवा अरु कसैले मलाइ बाहुन बनाई दिएको हो, त्यो कुरा मलाइ अझै सम्म प्रमाणित रुपमा थाहा छैन । हजुरबाको थर पाध्या अर्थात पुनाखर पाध्याय थियो । त्यो कुरा मलाइ राम्रोसँग थाहा छ । सायद पाध्याय भनेको उपाध्याय होला ।
एकपटक हाम्रा कान्छा बा संग खरबारीमा घाँस काट्न संगै जाँदा सोधेको थिएँ, ‘कान्छा ‘बा’ पुजा गरेर पोको किन हजुरले र बाले मात्रै ल्याउने, गाउँका अरुले किन नल्याउने ?, एक हप्की त्यतिबेलै खाएँ, ‘तँलाई खाली किन यस्ता उटपट्याङ् कुरा मात्र गर्न पर्ने भन त ? हामी उपाध्याय भएर मात्र यस्तो गर्न पाको हो । सबैले पुजा गर्न थाल्ने हो भने तैंले केरा, सुन्तला, मनबौ, पुवा कसरि खान पाउँथिस् त !’ एक मनले त हो त नि जस्तो पनि लाग्यो । तर मनमा खस–खस भने मेटिएको थिएन । फेरि एउटै कुरा सोधी राख्ने कुरो पनि भएन ।
हाम्रा बाउ बाजे शोषक बर्गका थिएनन् । आर्थिक अवस्था न्यून थियो । आफ्नै जग्गाको उब्जनीले धान्न गाह्रो गाह्रो पथ्र्यो । कहिले काँही बेसाहा किन्न पथ्र्यो भने दिउँसोमा ल्याउने कुरा हुदैनथ्यो । गाउँमा सबै सुतेपछि चप्पल नपड्काइ लुसुक्क स्यांग्जा जिल्लाको काभ्रेमा पुगेर कोदो किन्ने र उज्यालो नहुँदै घर आउने सम्म ३ पटक जति म आँफैले गरेको छु । बेसाहा खानुलाई त्यति बेला ठुलो ब्यइज्जतीको रुपमा लिइन्थ्यो । छोरा धेरै हुनेहरुलाई त झन् ठूलो इज्जतको सवाल हुन्थ्यो । छोराहरुको बिहे गर्नु पर्ने हुन्थ्यो । बेसाहा खानु पर्नेलाई कुनै पनि मुर्खले छोरी दिंदैनथ्यो । छोराहरु जिन्दगीभर बाँझै बस्लान भन्ने पिर हाम्रो परिवारमा पनि थियो सायद !

छोराको बिहे गर्ने बेलामा केटी पक्षबाट केटाको घर हेर्न आउने चलन हुन्थ्यो । त्यस्तो चलन बाहुन कहाँ मात्र हैन, अन्य जातिकोमा पनि हुन्थ्यो । केटाको घर हेर्न आउँदा सबै भन्दा पहिला गोठ हेर्ने चलन थियो । हल गोरु पनि छन् र हृष्ट पृष्ट लैना बकेर्ना भैंसी छन् भने आधा बिहे त्यहिबेलै भै सक्थ्यो । अब बाँकी हेर्ने भनेको परालको टौवा हो । कुरो गर्दै जाँदा खेत बारी पनि कहाँ के कति छ ? उनीहरुको आसय बुझेर हात मुखले फनक्क घुमाएर देखाउने चलन थियो ।

त्यति बेला म पाँच कक्षामा पढ्थें । ।मंसिरको महिना थियो । हँसिया अर्जाप्न भनेर मलाइ बि क दाइकोमा पठाइयो । दिउँसो धान काट्ने खेताला बोलाइएको रहेछ । हँसिया अर्जाप्ने काम हुँदै थियो । दाङ्कोटे ठुल्दाइले मलाइ हंसियामा पाइन् हाल्ने पानी ल्याउन भनेर अह्राए । अलि कडा मिजास थियो उनको । सुरुक्क आमखोरा लिएर उनकै घरमा पानी लिन गएँ । उनकी आमा संग दाईले पानी लिन पठाको भनें, आमैले पानी दिनु भयो । घरबाट आरन पुग्न ५ मिनट जति हिंड्नु पथ्र्यो । पानी लिएर जाँदै थिएँ अलि तिर्खा लागे जस्तो भयो पानी तनक्क पारें झन्डै आधी अम्खोरा जती । दाङ्कोटे दाइलाई पानी बुझाएँ । ‘अलि भरेर पनि ल्याउन सकेनौ बाहुन ?’ उनि कड्किए । नाजवाफ हेरि मात्र रहें । हाम्रा हंसियाहरु अर्जाप्दै गर्दा मैले नचिनेका एक जना बुढा मान्छे पनि त्यहाँ आए । गोतामे पण्डितका छोरा हौ भनेर उनले सोधे । हो भनें । मोही पार्ने ठेको चुहिएर टाल्न आएका रहेछन उनि ।

७–८ वोटा हँसिया, एउटा फाली र केहि करुवा अर्जाबेर दौडि हालें । बाटोमा आउंदै थिएँ । खरदार महेन्द्र प्रताप सेनसंग उहाँको घर नजिकै भेट भयो । दर्शन बुवा भनें । ुस्कुल जान ढिला भएन बाहुन ? हप्काउनु भयो । सहपाठी साथी बिकासको बुवा भएकोले उहासँग खासै डर लाग्दैनथ्यो । खोलामा त्यति बेला उहाँको रवाफ चाने चुने थिएन । अलि अगाडी पुग्दा बिकासको बुवाले ‘बाहुन’  भनेको झल्याँस्स सम्झें र सम्झें दाङ्कोटेको आधा अम्खोरा पानी सिनित्त पारेको कुरा । ल अब बर्बाद भएन ! मनमा निकै खस खस भयो । जिउ गरुङ्गो भयो । पसिना आउला आउला जस्तो भयो । चिट चिट भएर औडाहा होला जस्तो भयो । यो सब यहि पानीको खेल हुनु पर्छ । मनमा यस्तै यस्तै अनेक तर्कना खेल्न थाले । अब के गर्ने होला ? सेती खोला तर्ने बेलामा मनमा एउटा जुक्ति फुर्यो । पाप पखाल्न नायक साहेब देउतासंग गल्ति गरेकोमा माफी माग्ने र पेटमा पुगी सकेको पानी मुखमा औंला घुसारेर वाक्क वाक्क गर्दै खोलामा ओकल्ने । दुवै काम गरें । ुहे नायक साहेब देउता मैले अन्जानमा बि क को घरमा पानी खाएँ, मेरो पाप सबै कटौति होस्, अब उप्रान्त म बाट यस्तो काम कहिल्यै हुने छैन ।’ ३ पटक यति भनि सकेपछि अलि हल्का अनुभूति भयो । खोलो तरेर दौडिदै गर्दा स्कुलको प्रार्थनाको घन्टी बजी हाल्यो । असिना पसिना गर्दै घर पुगेर हँसियाको मुठो फ्यात्त फालेर भातै नखाई स्कुल गएँ । प्रार्थनाको लाइनमा पुग्न सकिएन भने ५ पैसा जरिवाना तिर्नु पथ्र्यो । त्यो दिन भाग्यवस लाइनमै पुगियो ।

photo

अरु त कसै संग पनि ‘पानी काण्ड’ बारे चुँ सम्म बोलिन । झन्डै एक सातो जति पछि हुनु पर्छ कान्छाबा संग अलि डराई डराई यो कुराको भेद खोलें । पानी ओकलेर खोलामा फालेको तथा नायक साहेब संग जम्ला हात जोडेर बिन्ति भाउ गरेको सप्पै कुरो एक एक गरि बताएँ । ‘खोलामा बरु एक पटक चुर्लुम्म डुबेर आको भा हुन्थ्यो नि ! तेरो बर्तुन गरेको छैन क्यारे केहि पनि उल्टा पाल्टा हुँदैन, बरु बा संग यो कुरा नगरेस ‘कान्छाबाले यति भने पछि यो मन त मेरो हलुङ्गो भयो। म पहिलाकै बाहुन जस्तै भएँ । आपत् रैछ यो बाहुन हुने काम पनि, बेला बेला मनमा यस्तो कुरा खेली रहन्थ्यो । पानी खाँदा मेरो मनमा खेलेको तरंग संगै ठेको चुहिएर दाङ्कोटेको आरनमा टाल्न आउने बुढालाई सम्झें । उनले त त्यहि ठेकोमा मोही पार्ने हुन्, त्यहीं बाट घिउ निकाल्ने हुन् । त्यहि घिउ देउतालाई चढाउने हो । देउता दाङ्कोटे संग रिसाउलान् कि ति बुढा संग यसको भेउ मैले पाउने कुरो थिएन ।
गाउँमा सबैले यिनलाई नन्दे भन्थे । यिनको नाम नन्द बहादुर होला भन्ने कुरो धेरै पछि मात्र मैले बुझें । अर्थात् नन्द बहादुर सार्की । म सानै छंदा गाउँमा बलको बारेमा धेरै चर्चा परि चर्चा हुन्थ्यो । ढुंगा उचाल्ने, दलिन बोक्ने, धानको बोरा, परालको भारी, ठेलो फाल्ने, असारको रोपाईंमा खोक दौडाउने, अनि रिस राग भएको ठाउमा चोट पटक लाग्ने गरि अरुलाई कुटेर लघार्ने यस्तै यस्तै । नन्दे दाइ बलको मामिलामा नामुद थिए । आंधीका ढुंगा जस्ता पोटीला पोटीला थिए, उनका पाखुरा । भुस तिघ्रे थियो उनको जिउ । हेर्दै डर लाग्ने ।
सेती खोलो बढेर उर्लापात हुन्थ्यो । उनी नहुने हो भने वारिका मान्छे वारि र पारीका पारी नै हुन्थे । जहाँ जसलाई अप्ठेरो परे पनि नन्देलाई बोलाउनु पर्यो भन्ने चलन थियो । जस्तो सुकै खोलामा पनि दुई जनालाई बोकेर सजिलै खोला तार्थे उनले । खोक दौडाउने कलामा उनलाई कसैले सक्दैनथ्यो । मेला पातमा उनको राम्रै चर्चा हुन्थ्यो । हाम्रो तल घर हजुरबाकोमा मजुरी जोत्ने काम गर्थे उनले । धेरै बर्ष स्थायी रुपमा जोते उनले । हामीलाई निकै माया गर्थे । एक दिनको कुरा झन्डै २०३२ साल तिर हुनु पर्छ, म खरबारीमा गाई गोरु चराउन गएको थिएँ । उनि हुवास तिरबाट आफ्नो घर जान खर्बारीको बाटो आउंदै थिए । रक्सीको तालमा सालैजो को भाका गाउँदै थिए उनले। मेरो नजिकै आएर ए बाहुन बिस्कुट खान्छौ ? भनेर सोधे । चिनेको मान्छेले बिस्कुट खान्छौ भनेर सोधे पछि कसले खान्न र ! ठूलो कुरा थियो बिस्कुट त्यति बेला । १ पोको राजा बिस्कुट मलाइ दिएर उनी बाटो लागे । खनियाको बुटा मुनि बसेर सेती खोलो हेर्दै मैले बिस्कुट चिरिप्प पारे । बिस्कुट त खाएँ तर मनमा कता कता नमजा लाग्यो । बिस्कुट उनले दिएको खान हुने हो कि होइन म अलि ढुक्क हुन सकिन । भित्र भित्र अलि अलि मन अमिलो भयो । घरमा गएर गाइ गोरु बाँधी सके पछि आमासँग यसो कुरो निकालें । ‘नन्दे दाईले बिस्कुट दिएका थिए मैले त खान हुँदैन होला भनेर खाइन् ।’ आमाले ‘बिस्कुट खान त केहि हुँदैन !’ भनेपछि मन हलुङ्गो भयो ।

नन्द बहादुर दाइ अहिले बिरामी रहेछन । बोल्न सक्दैनन् । वाक्य बन्द भएछ । झन्डै आधा घन्टाको बसाइमा भाउजुसँग लामो कुरा भयो । हामीलाई देख्दा आँशु झारे नन्द दाइले । तिनको मनले धेरै कुरो भने होला । अफसोच सम्बाद हुन सकेन ।

नन्दे दाइका कान्छाबाले हाम्रो घरमा जोत्ने काम गर्थे। धेरै बर्ष जोते उनले। उनको छोरालाइ ठुल्दाई भन्थ्यौं हामीले। उनी पछी इंडियामा भर्ति भए। पहिलो छुट्टी आए पछी बिहे गरे। भाउजु असाध्यै मिलनसार र शुशिल थिइन्।बेला बखत हाम्रो घरमा आइ रहने।  हाम्री आमाले पनि औधी माया गर्थिन भाउजुलाई। यस्ती बुहारी हाम्रो कर्ममा लेखेको छ कि छैन होला भनेर गैह्राघरे अजी संग आमाले कुरा गरेको एक पटक मैले पनि सुनेको थिएँ। छुट्टी सकिए पछि ठुल्दाई हांजीरमा गए। फोनमा सम्पर्क गर्ने भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा थियो त्यति बेला। आफ्ना श्रीमानले पठाएको चिट्ठी पढाइ लिन भाउजु निरन्तर आइ रहन्थिन। जो पाई उसलाई चिट्ठी पढ्न दिने कुरा पनि भएन। श्रीमानले आफ्नी जहानलाई लेखेको चिट्ठीमा अनेक कुरा हुन्थे एउटै चिट्ठीमा रुने र हाँस्ने कुरा धेरै ठाउँमा हुन्थे। माइला बाउ, दाईले लेखेको कुरा कसैलाई पनि नभन्नु है’ बेला बेला सचेत  गराउँथिन उनले। एक पटक के भएछ धेरै लामो समय इंडिया बाट चिट्ठी आएन। भाउजु निकै आत्तिइन। हाम्री आमा संग आएर लामो दुख: बिसाउथिन उनले। उनी रात भरि रुंदा आँखा रातै बनाएकी हुन्थिन।

एक दिन खरबारीमा घाँस काटी रहेको बेला बेलुकी झन्डै ६ बजेको हुँदो हो भाउजु टुप्लुक्क त्यहीं पुगिन। मैले सोंचें,  चिट्ठी आए होला। नभन्दै पटुका भित्र बाट चिट्ठी निकाल्दै बलिन्द्र धारा आंशु झार्दै उनी बोलिन , ‘बाबु पढ्नुस त मत कति रात भै सक्यो झिमिक्क निदाएकी छैन। खर माथी टुसुक्क बस्दै मुजेत्रोले आँशु पुछिन। चिठी खोलें। ४ पानामा ८ पेज पुरै रोमनमा लेखिएको थियो। त्यति बेला प्राय लाहुरेहरु रोमनमा लेख्थे चिठी। कोरसमा जानु परेकोले चिठी पठाउन ट्याम नमिलेको , हिउँ पर्ने हिमालमा ड्युटी परेकोले झन्डै ६ महिना जती चिठी लेख्न नमिलेको आदि कुरा थिए। अरु कुरा त त्यति बेला उनीसंग कसैलाई पनि भन्दिन भनेकोले अहिले पनि लेख्ने कुरा भएन। चिट्ठी पढ्दा भाउजु घरी घरी लाजले भुतुक्क हुन्थिन। लामै समय लगाएर बिस्तारै चिठी पढी सकाएँ मैले। पटुकामा २ वोटा सेल रोटी पनि ल्याएकी रहिछन भाउजुले। बाबु खानु हुन्छ ? भनेर सोधिन। खान्छु भने। उनले एकै छिनमा खर काटेर  मेरो डोको टन्न भरि दिईन र चिठीमा लेखेको कुरा अरुलाई नभन्नु है भन्दै बिदा भईन।

उनि त्याहाँ बाट बाटो लागे पछि मनमा खस खस भयो। रोटी सम्झें अनि म बाहुन। ल बर्बाद भयो। त्यो रोटी खाको कुरो कसैले देखेर बालाई भन्दिए भने के गर्ने होला सोचें मनमा अनेक उथल पुथल भयो। घर नपुग्ने बेला सम्म मुटु ढुक ढुक भै रह्यो।  त्यै पनि केहि बिघ्न बाधा नपरोस भनि घर पुगेर घाँसको डोको फालेर बाच्छी बाँधेको ठाउँमा पुगें। अनि मुति मुति गाई साउनमा माले बाच्छी पाई भन्दै एक छिनको प्रयासमा गहुँत निकाली ३ पटक टाउको र ३ पटक मुखमा आच्मन गरि स्वयम् सुद्धि प्राप्त गरें।  अहिले समय बदलिएको छ। गणतन्त्र, संघियता ,धर्म निरपक्षता समानुपातिक तथा समावेशिता मुलुकमा आएको छ। मानिसका सोंचाईमा आंङ्गका तान फरक परि सकेको छ। ती निरक्षर भाउजुहरु पनि अहिले आफ्ना छोराहरुले बिदेस बाट पठाएका चिठी पत्र पढ्न सक्ने भै सके होलान।  उनका बुहारीहरू फेसबुक चलाउँदै आफ्ना श्रीमान् संग भिडिओ च्याट गर्दै होलान। दांगकोटे ठुलदाईका नाती नातीनाहरु संग संगै बसेर खाँदा पानी ओकल्न पर्ने अवस्था अहिले पक्कै नहोला। र पनि समाजमा अझै कोटी कोटी बिभेदहरु छन्। कुकुरलाइ संगै ओछ्यानमा सुताउने र मान्छेलाई अछुत छी छी गर्ने मानसिकता दिमागको कुनै कुनामा रहेसम्म कागजमा लेखेको सामाजिक समानताले सिंह दरवार गाउँमा पुग्यो भनेर के को हल्ला गर्नु !

 

वि.सं.२०७४ चैत १७ शनिवार १२:५८ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...