back
CTIZAN AD

धार्मिक पर्यटकीयस्थल ढोरपाटनले विकासमा फड्को मार्न सकेन

वि.सं.२०७४ चैत २१ बुधवार

657 

shares

२१ चैत । ढोरपाटन, बागलुङ– नेपालकै पहिलो एवं एकमात्र शिकार आरक्षका रुपमा रहेर पनि ढोरपाटन विकासका दृष्टिले ओझेलमा परिरहेको ढोरपाटनमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको छ ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आइतबारदेखि जारी ढोरपाटन अवलोकन भ्रमण कार्यक्रमअन्तर्गत आरक्षण क्षेत्र परिसरस्थित सामुदायिक होटलमा आयोजित अन्तरक्रियामा लामो समयदेखि स्वदेशी एवं विदेशी पर्यटक आउन थाले पनि यो क्षेत्र अझै ओझेलमा परेकामा वक्ताहरूले जोड दिए ।

ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष भएर पनि अपेक्षित विकास नहुँदा यहाँका सर्वसाधारणको जनस्तर पनि अघि बढ्न नसकेको प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले बताए ।

“यहाँको विकाससँगै जनजीविकासँग जोडिएका विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ”, उहाँले भने, “अधिकार सम्पन्न ढोरपाटन विकास समितिका माध्यमबाट दीर्घकालीन सोचका साथ गुरुयोजना बनाएर अघि बढ्नुपर्छ ।”

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले दुई हजार ८०० मिटर उचाइको ढोरपाटनबाट पाँच हजार मिटरभन्दा उचाइका उच्च हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिने भएकाले यहाँ पर्यटनका अथाह सम्भावना रहेको बताए ।

ढोरपाटनको समग्र विकासका लागि सरोकारवाला सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गर्दै उहाँले होटललगायतका पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण आवश्यक भएकामा जोड दिए ।

प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले शिकार आरक्ष कार्यालय र स्थानीयवासीबीच हुने गरेका अन्तरविरोध समाधान गर्दै स्थानीयवासीको जीवनस्तर उचो गराउनेखालका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।

आसपासका सडकको स्तरोन्नतिका साथै निर्माणाधीन सालझण्डी–ढोरपाटन सडकलाई चाँडो सम्पन्न गर्नुपर्नेमा उनको जोड छ ।

प्रदेशसभा सदस्य टेकबहादुर घर्ती मगरले ढोरपाटनको समृद्धि र विकासमा आरक्ष कार्यालय र स्थानीयवासीबीच पनि समन्वयको आवश्यकता भएको बताउँदै यहाँको विकाससँगै स्थानीयवासीको रहनसहन पनि त्यही रुपमा विकास हुनु आवश्यक भएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले सन् १९८७ देखि सञ्चालनमा आएको ढोरपाटन शिकार आरक्ष र आसपासको क्षेत्र अझै पनि पर्यटकीय रुपमा अपेक्षित विकास हुन नसकेको अवस्थामा सरोकारवाला सबैको ध्यान पुग्नु जरुरी भएको बताए ।

हिमाल, पहाड र तराई सबैको एकै ठाउँमा अनुभूति गर्न सकिने ढोरपाटन विकासका प्रचुर सम्भावना बोकेको स्थल भएको उहाँको भनाइ छ ।

ढोरपाटन नगरपालिका–९ अध्यक्ष हरिबहादुर घर्ती मगरले आदिमकालदेखि दलित, जनजाति र नौथर रहेको यस क्षेत्रमा लामो समयदेखि स्थानीयवासी विभिन्न समस्या झेल्दै आएको बताए ।

यहाँका स्थानीयवासीको जीवनस्तर अझै पनि कमजोर रहेको बताउँदै उहाँले यहाँका उत्तरगंगा, ढोरबराहजस्ता धार्मिकस्थलको प्रचारप्रसार गर्दै पर्यटकीय विकासका माध्यमबाट सर्वसाधारणलाई समृद्धितर्फ उन्मुख बनाउनुपर्ने बताए ।

आवश्यक पूर्वाधार विकासका साथै प्रचारप्रसार भएमा ढोरपाटनले विकासमा फड्को मार्नेमा उहाँको जोड थियो ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ, उपाध्यक्ष झवीलाल अधिकारी, महासचिव हरिराम अधिकारीलगायतले अवलोकन भ्रमणले यहाँका सम्भावना पहिचान गराएको बताउँदै त्यसको उजागर गर्न पहल गरिने धारणा राखे ।

कार्यक्रम संयोजक कुलचन्द्र शर्माका अनुसार बागलुङ तथा पर्वतका अन्य केही पर्यटकीयस्थल अवलोकन गर्दै भ्रमणटोली आज साँझसम्म पोखरा फर्किने छ । तस्वीर उपलब्ध छ ।

वि.सं.२०७४ चैत २१ बुधवार १४:०३ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...