२३ चैत, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको बताएका छन् ।
उद्योग संघ चितवनले आयोजना गरेको पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै पैडेलले अधिकारको लडाइँ सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताए ।
चितवन र मकवानपुरलाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ मा शक्तिखोरको औद्योगिक क्षेत्रबाहेक अन्यत्र पनि औद्योगिक क्षेत्रको आवश्यकता रहेको बताए । भूगोल र आवश्यकताअनुसार औद्योगिक क्षेत्र निर्माण गर्नु आवश्यक रहेको पैडेलको भनाइ थियो ।
मुलुकलाई कसरी औद्योगीकरणतर्फ लैजाने भन्ने विषयमा सोच्न जरुरी रहेको पैडेलले बताए । यसका लागि औद्योगिक वातावरण बनाउन आफू लागिपरेको पैडेलको भनाइ थियो ।
सोही अवसरमा प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्योगीको समस्या समाधान गर्नका लागि प्रदेश सरकार तयार रहेको बताए ।
उद्योग परिसंघ प्रदेश नं ३ का संयोजक ऋषिराम घिमिरे, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेकपा ९एमाले०की जिल्ला सहसचिव सूर्य बदना हमाल, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा ९माओवादी केन्द्र०का द्रोणबाबु सिवाकोटी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले बोलेका थिए ।
आजदेखि शुरु भई चैत २७ गतेसम्म सञ्चालन हुने औद्योगिक प्रदर्शनीमा दुई सय आधुनिक सुविधासम्पन्न स्टल रहेको मूल आयोजक समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिए ।
संघको अगुवाइमा निर्माणाधीन औद्योगिक प्रदर्शनी स्थलमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको मुख्य विशेषताको रुपमा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट, औद्योगिक व्यवसाय परामर्श, मेसिन उपकरणको प्रदर्शनी, उत्पादनमूलक उद्योग, रोजगार प्रवद्र्धन, कृषि तथा पशुजन्य उत्पादन, युवा उद्यमीका लागि फरकफरक परिसर रहेको दुवाडिले बताए ।
वि.सं.२०७४ चैत २३ शुक्रवार १५:५२ मा प्रकाशित





























