३१ बैशाख, भक्तपुर । प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किएका उनलाई आइतबार मष्तिस्काघात ९ब्रेन ह्यामरेज० भएको हो ।
चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई आइतबार अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको नेकपा ९एमाले० जिल्ला कमिटी भक्तपुरका सदस्य एवं स्थानीयवासी निरञ्जन बजगाईंले जानकारी दिए ।
उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उनको अवस्था स्थिर रहेको उनले बताए ।
लामिछानेको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरू अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएका थिए ।
शनिबार मात्रै राराबाट घर फर्किएका उनको अवस्था चिन्ताजनक भएपछि अस्पतालमा एमालेका नेता तथा कार्यकर्ताको भीड लागेको छ । उनी नेकपा (एमाले) को तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
वि.सं.२०७५ वैशाख ३१ सोमवार ०८:५६ मा प्रकाशित






























