
१ जेठ,काठमाडौँ । मुलुकमा हाल पाँच दर्जन विप्रेषण कम्पनीले सेवा पु¥याइरहेको सन्दर्भमा आजदेखि गरिमा विकास बैंकले पनि ‘गरिमा रेमिट’ शुरु गरेको छ ।
आज यहाँ आयोजित एक कार्यक्रमकाबीच सो बैंकका सञ्चालक डा आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरे ।
सो अवसरमा सञ्चालक श्रेष्ठले विकास बैंकले ग्राहकलाई प्रदान गर्ने सेवामा विविधिकरण गर्दै जाने क्रममा विप्रेषण जस्तो महत्वपूर्ण सेवा सञ्चालनमा ल्याइएको र त्यसका माध्यमबाट देशका विभिन्न स्थानमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले वर्तमान प्रतिस्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकको आवश्यकतालाई मध्यनजर गरी बैंकले गरिमा रेमिट शुरु गरेको बताउँदै छिट्टै नै बैंकले विदेशी मुद्रा विनिमयसम्बन्धी कार्य तथा भिसा डेविट कार्डसमेत सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिए ।
बैंकको हाल राजधानीमा पाँच शाखा कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा एटिएम सञ्चालनमा छन् ।
चुक्ता पूँजी रु दुई अर्ब ५३ करोड ४८ लाख ७९ हजार रहेको सो बैंकले गत वैशाख मसान्तसम्म रु १८ अर्ब ९० करोड निक्षेप संकलन गरी रु १७ अर्ब ५० करोड लगानी गरेको छ । उक्त अवधिमा बैंकले रु ४४ करोड सञ्चालन मुनाफामा आर्जन गरेको जनाएको छ ।
चालु आवको पछिल्लो आठ महिनामा विप्रेषण आप्रवाह चार दशमलव ९ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमलव तीन प्रतिशतले बढेको थियो ।
नेपालबाट विदेशिएका कामदारको तथ्यांकका आधारमा नेपाल भित्रिने विप्रेषणको सबैभन्दा धेरै हिस्सा मलेसियाको छ । त्यसपछि क्रमशः कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेतलगायत मुलुकबाट पनि ठूलो मात्रामा विप्रेषण भित्रने गरेको छ ।
वि.सं.२०७५ जेठ १ मंगलवार २१:३६ मा प्रकाशित






























