ठिक १२ बजे विद्यालय पुग्दा बालकक्षाका नानीहरु ‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ’ बोलको गीतमा मस्त थिए । कोही नाचिरहेका थिए, कोही मस्त सुतिरहेका थिए भने कोही गीतको सुरमा सुर मिलाउँदै थिए ।
गत शुक्रबारको यो दृश्य शिशु सुधार आधारभुत विद्यालय, बुद्धशान्ति–३ झापा को हो । त्यस कक्षामा मात्र होइन नर्सरी, केजी र एक कक्षाका विद्यार्थीहरु पनि त्यसरी नै रमाइरहेका थिए । खेल्दै सिक्दै ती कक्षामा शिक्षिकाहरुद्वारा विद्यार्थीलाई रमाइलो ढंगबाट शिक्षण सिकाईको काम चलिरहेको थियो । ‘कुनै बेला मर्ज हुने हल्ला चलेको यस विद्यालयमा हामीले कठोर मेहनतका साथ कक्षा एकसम्म अंग्रेजी माध्यमबाट कक्षा प्रारम्भ गरेका छौं ।’ त्यहिँ रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद रिजालले भने ‘यहाँ विपन्न वर्गका परिवारका विद्यार्थीहरु धेरै पढ्छन्, उनीहरुलाई स्तरीय शिक्षा दिन हामी कम्मर कसेर लागेका छौं ।’
अध्यक्ष रिजालले यस वर्ष देखि विद्यालयमा कक्षा एक सम्म अंग्रेजी माध्यम गरिएको र विद्यार्थी संख्या पनि ह्वात्तै बढेको बताए । विद्यालयका प्रधानाध्यापक पदम थापाका अनुसार ६४ जना नयाँ विद्यार्थी थपिएका छन् यो शैक्षिक सत्रमा । विद्यार्थी संख्या कम भएका कारण पटकपटक मर्ज (समायोजन) हुने हल्ला चलेको सो विद्यालयमा हाल ९० बढी विद्यार्थी अध्ययनरत रहेको प्रअ थापाले जानकारी दिए । विद्यालयको सस्कँदो अवस्थालाई सुधार गरी यहाँका विपन्न वर्गका नानीहरुलाई स्तरीय शिक्षा उपलब्ध गराउन शिक्षक थप गरिएको, विद्यार्थीलाई घरघर सम्म गएर नै ल्याउने व्यवस्था अनुरुप गाडीको व्यवस्था गरिएको, खेल्दै सिक्ने कुरालाई व्यवस्थित गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले जनाए । सो विद्यालयमा विद्यार्थीहरुले नि : शुल्क शिक्षा लिइरहेका छन् ।
केही सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमको बहाना बनाएर विद्यार्थीहरुबाट शुल्क लिइरहे पनि सो विद्यालयले विद्यार्थीहरुबाट शुल्क नलिएको बताउँदै अध्यक्ष रिजालले गाडी सञ्चालनका लागि मात्र विद्यार्थीहरुबाट मासिक एक सय रुपैंया लिइएको बताए ।
विद्यालयको अवस्था सुधार गर्नका लागि विभिन्न दाताको खोजीमा रहेको बताउने अध्यक्ष रिजालले नेदरल्यान्डको संस्था फ्रेन्डसीप नेपालले मासिक २५ हजार उपलब्ध गराइरहेको जनाएका छन् । यद्यपी आर्थिक अवस्था कमजोर हुँदा सोचे अनुरुपको कार्य अझै गर्न नसकिएको उनले जनाए । सो बेला विद्यालयमा व्यवस्थापन समितिका चन्द्रकला चापागाई, सीता दुलाल, सल्लाहकार मदन अधिकारी पनि विद्यालय गतिविधिमा क्रियाशिल देखिएका थिए ।
वि.सं.२०७५ जेठ २ बुधवार १२:१२ मा प्रकाशित






























