२ जेठ,काठमाण्डौँ । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा जानकारी गराएका छन् ।
सांसद भरतबहादुर सिंहले बझाङ जिल्लामा केही दिनयता परेको असिना पानीले गहुँ, जौ, फलफूल लगायतका अन्नबाली नष्ट गरेकाले असिना पीडित जिल्लाको रुपमा घोषणा गरी कृषकलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन माग गरे ।
असिना पानीपछि आएको पहिरोबाट जयपृथ्वी राजमार्ग अवरुद्ध भएको, एकै परिवारका पाँचजना पहिरोमा परेको जनाउँदै उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउन अनुरोध गरे ।
सांसद दिलेन्द्रप्रसाद बडूले सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको विमान दुर्घटनामा चालक दलका सदस्यको निधन भएको विषय सदनलाई जानकारी गराउँदै विमान दुर्घटनाका घटनालाई दोहोरिन नदिने उपाय अबलम्वन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अन्जना विशंखेले अन्तरजाति विवाह भएकै कारण मृत्युवरण गर्ने अवस्थालाई सरकारी षड्यन्त्रले बल पु¥याइरहेको आरोप लगाउँदै काभ्रेका कल्पना पराजुली र अजित मिजार बीचको अन्तर्रजातीय विवाहले निम्त्याएको घटनाक्रमको फेहरिस्त सुनाए ।
सांसद प्रमोद साहले नवलपुर–मलंगवा सडक निर्माण शुरु भएको आठ वर्षसम्म पनि ज्यूँका त्यूँ अवस्थामा रहेकाले सरकारले त्यस सडक निर्माणमा विशेष चासो देखाउनुपर्योे भने ।
अर्का सांसद् विमल श्रीवास्तवले मुलुकमा राजनीतिक परिवर्तन भएपनि हाम्रो सोच र दृष्टिकोणमा परिवर्तन हुन नसकेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा देखिएको बताए ।
सांसद प्रेम सुवालले संसद् सञ्चालन सम्बन्धी नियमावलीमा फौज्दारी अपराधमा संलग्न हुने सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवाद गरेर नियमावली प्रस्तुत हुन नसक्नु बेठीक हो भने ।
सांसद नवराज रावल सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालनमा देखिएको व्यवधान सल्झाउन तथा सुर्खेत अस्पताललाई सुव्यवस्थित तुल्याउन तथा कारागारको अवस्था निकै दयनीय रहेकाले सुधार गर्न सरकारसँग अनुरोध गरे ।
सांसद भरतकुमार शाहले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमबाट विमान अवतरण गर्ने रुट अनुमतिका लागि समयमै पहल गर्न आग्रह गरे ।
सांसद इन्दुकुमारी शर्माले यो सरकार पुरानो सलकारको निरन्तरता नभएर जनताको निकै आशा र भरोसाको सरकार भएकाले चुरे शृंखलाको दोहनलाई रोक्न ठोस कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
अर्का सांसद छक्कबहादुर लामाले आज हुम्लामा हवाई दुर्घटनामा ज्यान गएका चालक दलका सदस्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै हुम्लामा वर्षा अगावै खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन आग्रह गरे ।
सांसद झपट रावलले केही दिनअघि कैलालीमा आएको हावाहुरीबाट केही व्यक्ति घाइते भएको, धेरै विद्यालयका छाना उडाएको, बालीनाली नष्ट भएको जानकारी गराउँदै घाइतेको उपचार र पीडितलाई क्षतिपूर्तिका लागि माग गरे ।
राष्ट्रसेवक कर्मचारी जनताको काम गर्नुको साटो सामाजिक सञ्जालमा रमाउने गरेको घटना बढेकाले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने नीति बनाउन सरकारलाई उनले सुझाव दिए ।
सांसद लक्ष्मी परिवारले प्रतिनिधिसभाको निर्वाचनको क्रममा बम आक्रमणमा परेर घाइते भएका पूर्व सांसद नारायण कार्की लगायतलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।
अर्का सांसद दुर्गा पौडेल र निरु पालले महेन्द्रनगर अस्पताललाई व्यवस्थित तुल्याउन तथा दोधरा र चाँदनीमा भारतीय पक्षबाट हुँदै आएको थिचोमिचोबाट नेपाली जनताले दुःखकष्ट खेप्नु परेको बताए ।
वि.सं.२०७५ जेठ २ बुधवार १३:५३ मा प्रकाशित






























