१ असोज, काठमाडौँ । सरकारले भारतबाट यो वर्ष एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रीपरिषद बैठकले चिनी आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको हो ।
चिनी उत्पादक संघ र उखु उत्पादक महासंघको आग्रहमा सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएको हो । भारतमा उत्पादन बढेपछि सस्तो चिनी भित्रिएर स्वदेशी उत्पादन बिक्री हुन सकेको छैन ।
नेपाल विश्व व्यापार संघको सदस्य भएकाले आयातमा पुर्ण रुपमा प्रतिवन्ध लगाउन नमिल्ने भन्दै मन्त्रिपरिषद्ले चिनी आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको हो ।
यस्तै सरकारले उखु उत्पादक किसानलाई उखुमा प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने समेत निर्णय गरेको छ । संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार विदेशबाट दुई लाख टन चिनी भित्रिसकेको छ । स्वदेशी उद्योगबाट उत्पादित १ लाख ७८ हजार टनसहित ३ लाख ७८ हजार टन चिनी मुलुकभित्र रहेको छ । हाल नेपालमा चिनीको वार्षिक खपत साढे २ लाख टन छ । विदेशबाट सस्तो चिनी आयात भएपछि स्वदेशी उद्योग संकटमा परेको उद्योगीले गुनासो गर्दै आएका छन् । संघका अनुसार ५४ हजार टन मात्रै चिनी बिक्री भएको छ । अहिलेपनि १ लाख २४ हजार टन चिनी मौज्दात छ ।
वि.सं.२०७५ असोज १ सोमवार ०९:३१ मा प्रकाशित






























