
१२ असोज, काठमाडौँ । विदेशी लगानीकर्ताले परिवत्र्य विदेशी मुद्रा धितो राखेर बैंकबाट नेपाली मुद्रामा ऋण लिन पाउने भएका छन् ।
राष्ट्र बैंकले विदेशी लगानीबाट सञ्चालित परियोजनामा अल्पकालीन फन्ड व्यवस्थापन गर्न यस्तो सुविधा दिएको हो ।
राष्ट्र बैंकले परिपत्र जारी गरी बैंकहरूलाई उक्त निर्देशन दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले मंगलबार निर्देशन दिएको हो । यसअघि विदेशी लगानीकर्ताले परिवत्र्यभारुबाहेक सबै विदेशी मुद्रा विदेशी मुद्राको धितोमा ऋण पाउने व्यवस्था गरेको हो ।
परिपत्रमा विदेशी लगानीमा स्थापना भएका तोकिएका उद्योग तथा परियोजनामा विदेशी लगानीकर्ताले भित्र्याएको परिवत्र्य विदेशी मुद्राको रकम नेपालका वाणिज्य बैंकहरूमा निक्षेप राखी सोको धितोमा नेपाली मुद्रामा कर्जा लिन सक्ने व्यवस्था गरिएको छ ।
विदेशी लगानीकर्ताहरूले नेपाल भित्र्याएको सबै लगानी तुरुन्तै स्वदेशी मुद्रामा परिवर्तन गर्नुपर्ने बाध्यता हुँदैन । यसकारण लगानीकर्ताले केही रकम विदेशी मुद्रामै वाणिज्य बैंकहरूमा निक्षेपका रूपमा राख्छन् । विदेशी मुद्रामै निक्षेप गर्नका लागि भने राष्ट्र बैंकको पूर्वस्वीकृति चाहिन्छ । त्यही निक्षेपका रूपमा राखिएको विदेशी मुद्राको धितोमा लगानीकर्ताले अब ऋण पाउने भएका हुन् । पछिल्ला वर्षहरूमा प्रत्येक्ष वैदेशिक लगानी बढिरहेको छ । यही क्रममा गत वर्ष १७ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी मुलुक भित्रिएको छ । अघिल्लो वर्ष यस्तो लगानी १३ अर्ब ५० करोड रुपैयाँ थियो । उक्त अवधिमा खासगरी ऊर्जा, सिमेन्ट, होटललगायतका उद्योगहरूमा धेरै विदेशी लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
यो व्यवस्थाले खासगरी पूर्वाधार विकास तथा निर्माणसँग सम्बन्धित लगानीकर्ता वा आयोजनालाई फाइदा पुग्ने राष्ट्र बैंकको विश्वास छ ।
वि.सं.२०७५ असोज १२ शुक्रवार ०८:५३ मा प्रकाशित






























