दशैंसँग मासु जोडिएर आउने गर्छ । हुनत अरु बेला पनि हाम्रो भान्सामा तरकारीको रुपमा मासु पकाउने चलन बढेर गएको छ । अरु बेलाको मासु र दशैंको मासुमा खास फरक नभएपनि मांसाहारीले दशंैैंको मासुलाई विशेष रुपमा लिएको पाइन्छ ।
सोह्र श्राद्ध सकिनासाथ धेरैको मान्छामा दशैंको मासुले प्रवेश पाउँछ । अझ फूलपातिपछि त शाकाहारी बाहेक अरुको भान्छा मासुमय भइहाल्छ । पाक्दै गरेको मासुका परिकारहरूको स्वादले केही दिन दशैं र मासुको सम्बन्धको परिभाषा आफैं दिइरहेझंै लाग्छ ।
पक्कै दशैं मासुको मात्रै चाड होइन । तर दशैंमा कोत, शक्तिपिठमा मात्रै होइन घरघरमै बलि दिने चलन रहिआएको छ । राँगा, बोका, हाँस र कुखुराको वलि दशैंमा दिइन्छ । वलि बाहेक पनि दशैंमा घर–घरमा खसी काट्ने चलन पनि छ । घरमा खसी नकाट्नेहरूले पनि मासु पसलबाट मासु ल्याएर दशैं मनाउने गर्छन् । सप्तमी देखि कोजाग्रत पूर्णिमासम्म धेरै नेपालीको घरमा मासु नै पाक्ने गरेको पाइन्छ ।
आफ्नो स्वाद अनुसार मानिसहरूले मासुका विभिन्न परिकार बनाएर खाने, रमाइलो गर्ने गर्छन् । दशंैैंमा मासु खानु र मासुकै परिकारले पाहुनाहरूलाई सत्कार गर्नुलाई दशंैैं विशेष मान्ने गरेको पाइन्छ । त्यसैले दशंैैं र मासु धेरै हदसम्म एक अर्काका परिपुरकसमेत भएका छन् । भलै मासु नभई दशंैै टर्दै नटर्ने भन्ने त होइन । तर, दशैंलाई मासुले विशेष प्रभावित भने गर्न सक्छ ।
वाह दशैं !
दशैं सम्झिदै खुलेको आकाश, पर–पर क्षितिजसम्म देखिने सफा मौसमलाई कसले बिर्सने ? सँगसँगै जताततै हरियाली, आँगनभरी फुलेका सयपत्री र मखमली फूल अनि बारीभरी फूलेको पहेंलो तोरीले त झन देश छोडेर विदेश बसेका परदेशीलाई दशैंको झझल्को ल्याइदिन्छ । गाउँघरमा पहेंलपुर भएको बेशी, कुखुराको चल्ला बसे जसरी बारीभरी फुलेको तोरी र लपक्क भएर पाक्दै गरेको कोदोले दशैंसँगै खुसी साटेजस्तो लाग्छ ।
कानमा सिउरिएका पहेंला जमराका गुच्छा र रातो टिका दशैंका बिशेषता नै भए । यी बाहेकदशैं शाकाहारी र मांसाहारीको विशेष परिभाषाका लागि महत्वपूर्ण मानिन्छ ।
मासु महिमा
मानिसले सबैभन्दा पहिले खान सुरु गरेको नै मासु भएको मानवशास्त्री बताउँछन् । जंगलमा कन्दमुल भन्दा पहिला मान्छेले काँचै मासु खान थालेको हो । आगोको विकाससँगै उसले मासु पोलेर खान थालेको र सँगसँगै कन्दमुल र अनाजतर्फ मानव आकर्षित भएको पाइन्छ ।
मानिस र मासुको सम्बन्ध ऐतिहासिक कालसँग जोडिएको मान्न सकिन्छ । उक्त सम्बन्ध दशैं सँग पनि जोडिएको भन्दा अतिसयोक्ति नहुने बताइन्छ ।
दशैंमा विशेषत शक्तिपिठहरूमा बलि दिइन्छ । यसले स्त्रीशक्तिको महिमा समेत उद्घोष गर्दछ । यससँगै बलि दिएका जनावरको मासुको खपत पनि गर्नैपर्ने भएकोले दशंैैंमा मानिसहरू मासुका विविध परिकार बनाएर खान मन पराउँछन् ।
लामो विदाले समेत होला धेरैको योजनानै दशंैैंमा मासुका विविध परिकार बनाएर आफन्तसँग बसेर रमाइलो गर्ने भन्ने नै हुन्छ ।
७० हजार खसी बोका काठमाडौंमा
स्रोह श्राद्ध सकिएर घटस्थापना सुरु भएसँगै काठमाडौं खसीमय बन्ने गरेको पाइन्छ । यसपालीको दशंैैंमा पनि काठमाडौं खसीमय बनिसकेको उपत्यका मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसी बताउँछन् । सडकका चोक–चोकमा खसी बिक्रिका लागि राखिएको देख्नु दशंैैंको विशेषता नै बनिसकेको काठमाडौंबासीहरूको अनुभव रहेको छ । यसपाली काठमाडौंका लागि ७० हजार भन्दा बढी खसी बोका चाहिने व्यवसायीको अनुमान छ । यसैका आधारमा चौपाया व्यवसायीहरूले खसी बोका अर्डर गरिसकेको पनि खसी बजारका व्यवसायीहरूले बताएका छन् ।
दशैंमा २ सय करोडको कारोबार
दशैं र मासुको सम्बन्ध कति नजिकको छ भन्ने त दशैंमा हुने मासुको कारोबारले पनि बताउँछ । उपत्यकामा ७० हजार खसी बोका, ३० हजार भन्दा बढी राँगा र भैसीको मासु खपत हुने उपत्यकाका मासु व्यवसायीहरू बताउँछन् । दशैंको घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म २० अर्ब रुपैयाँ बराबरको मासु खपत हुन्छ । जसमा ५५ प्रतिशत भाग राँगा भैंसीले ओगटेको तथ्याङ्कहरूले देखाएका छन् । दोस्रो स्थानका खसी बोकाको मासु खपत हुने तथ्याङ्क छ । खसीबोकाको मासुको खपत २० प्रतिशत रहेको छ । यसबाहेक तेश्रो स्थान ओगटेको कुखुराले १७ प्रतिशत र चौथो स्थान सुंगुर बंगुरले ७ प्रतिशत हिस्सा ओगटेको बताइन्छ ।
६ सय हजार किलो प्रतिदिन
दशैंमा उपत्यकामा मासु खपत प्रतिदिन ६ सय हजार किलो ग्राम हुने उपत्यका मासु व्यवसायी संघले जनाएको छ । उपत्यकामा मासिक खपत हुने मासुको सम्पूर्ण हिस्सा बराबर दशंैैका ७ दिनमा उपभोग हुने गरेको संघले बताएको छ । उपत्यकामा १७४ मिलियन किलो रागाको मासु खपत हुन्छ भने राँगा भन्दा ६० प्रतिशत महँगो खसीको मासु भने ६०.५ मिलियन किलो ग्राम मात्रै खपत हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार औषतमा १ जना मानिसलाई ४३ केजी मासु आवश्यक पर्छ । तर, नेपालमा भने प्रति व्यक्ति मासु खपत अत्यन्तै न्यून छ । कृषि तथा पशु विकास विभागका अनुसार नेपालको प्रतिव्यक्ति मासु खपत जम्मा १२ किलो ग्राम मात्र रहेको छ ।
विकसीत देशमा भने प्रतिव्यक्ति मासु खपत ८० किलो ग्राम रहेको छ । विकाससील देशमा ३३ किलो ग्राम रहेको छ ।
प्रतिव्यक्ति मासु खपत
नेपालमा बार्षिक प्रति व्यक्ति मासु खपत – ११.७२ कि.ग्राम
विकसीत देशमा बार्षिक प्रति व्यक्ति मासु खपत – ८० कि.ग्राम
विकाससील देशमा बार्षिक प्रति व्यक्ति मासु खपत – ३१ कि.ग्राम औषतमा
चाहिने बार्षिक प्रतिव्यक्ति मासु खपत – ४३ कि.ग्राम
मासु उत्पादनका आठ तह
मासु खादा जति स्वादिलो हुन्छ, मासु उत्पादन भने त्यत्तिकै विस्वादिलो र कठिन हुन्छ । भान्सामा मिठो वास्ना छर्दै पाक्ने र हेर्दै थुक निलेर खाउँ खाउँ लाग्ने मासु तपार्ईको भान्सासम्म पुग्न लामो फेरो मार्नुपर्ने हुन्छ ।
पशुपंक्षी पाल्ने किसान देखि तपार्ईको भान्सा पस्दासम्म त्यसले कम्तिमा पनि ८ वटा तह र पक्ष पार गरेको हुन्छ ।
तपार्ईलाई खाउँखाउँ लाग्ने त्यो स्वादिलो मासुको पहिलो पक्ष त्यो मासु दिने पशुपंक्षी पाल्ने किसान हुन् । किसानले आफ्नो गोठ या खोरमा पालीवरी हुर्काएको राँगा, खसी, बोका, हाँस, मासु बनि तपार्ईको भान्सासम्म आएको हो ।
त्यो मासुको दोश्रो पक्ष पशु चिकित्सक हुन् । किसानको गोठमा रहेका मासुका श्रोत पशुपंक्षी र जनावर बिरामी हुँदा तिनका उपचारमा चिकित्सक संलग्न हुन्छन् । अर्काे पक्ष दाना उत्पादक पनि मासु उत्पादनका महत्वपूर्ण पक्ष हुन् । यी बाहेक औषधि उत्पादक, दाना र औषधि बिक्रेता, खसी राँगा व्यापारी हुँदै मासु काटेर बेच्ने पक्षको फेरो मारेर मासु चट्ट परेर तपाईको भान्सामा पसेको हुन्छ ।
अझ तपार्ई घरमा नभएर रेष्टुरेण्टमा सेकुवा खादैं हुनुहुन्छ भने होटल र रेष्टुरेण्टलाई मासुका तह वा पक्षमा राख्न सकिन्छ ।
रोगको कारण नबनोस मासु
नेपाली समाजले दशैंलाई महान चाडको रुपमा स्वीकारेको छ । यसकारण यस चाडमा वर्षभरीका दुःख बिर्सदै चाडलाई बढी मासुमय बनाइन्छ । यस्ता चाडवाडमा गरीने खानपानको सामान्य लापरवाही रोगका कारण समेत बन्न सक्छन्् ।
नेपाली समाजमा दशैंको समयमा मासु विभिन्न रेसिपी अनुसार गजब गजबका पकवान तयार पारेर खाइन्छ । खसी, बोका, राँगा, बँदेल आदिको रातो मासुमा फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । यस्तो एसिड शरीरमा रहेको कोलेस्ट्रोलसँग मिलेमा शरीरमा खराब चिल्लो तयार हुने डा. खेमराज भुसाल बताउँछन् । यसैले सकेसम्म मासुको देखिने जति बोसो निकालेर मात्र खानु पर्ने डा. भुसालको सुुझाव छ । त्यसमा थोरै तेल र मसला राख्दा पचाउन सजिलो र स्वास्थ्यमा पनि हानी नगर्ने उनी बताउँछन् ।
दशैंमा मासुसँग चिसो पेय पदार्थका साथै मदिरा पनि खाने चलन छ । त्यस्ता पेय पदार्थ, मदिरा र मासुले शरीरको तौल बढाउन मद्दत गर्दछ । मदिरामा अत्याधिक मात्रामा क्यालोरी हुने भएकोले यसले तौल बढाउँछ । जति तौल बढ्दै जान्छ, शरीरका अन्य अंगमा त्यसको नकारात्मक असर पर्दछ । मधुमेहको औषधि खाइरहेका बिरामीले मदिरा सेवन गरे मिर्गौला खराब हुने सम्भावना बेसी हुने डा. भुुसाल बताउँछन् । मदिराका कारण दिमाग, मुटु र कलेजो मिर्गौलामा असर पर्दछ । यसकारण दशैंमा मासु खाँदा स्वास्थ्यको ख्याल गर्न अनिवार्य रहेको डा. भुसालको सुझाव छ ।
यस्तो छ काठमाडौंको मासुको स्वास्थ्य
केहि समय अघि एक गैरसरकारी संस्थाले गरेको अनुसन्धानमा काठमाडौंका बधशालाको मासु खाँदा एकपटक सोच्नै पर्ने परीणामहरू देखिएका थिए । काठमाडौंका विभिन्न बधशाला र कोल्डिङ सेन्टरबाट संकलित मासुको नमुना परीक्षणमा ११ प्रतिशत सोल्मोनेल जीवाणु भेटिएको थियो । उक्त जिवाणु फुड प्वाजनिङको मुख्य कारण मानिन्छ । इकोलाइले झाडा पखाला र आउँ जस्ता रोग लाग्न मद्दत गर्ने बताइन्छ । यस्तो इकोलाइ बधशालामा मासुमा प्रशस्त भेटिएको तथ्याङ्कले बताएका छन् ।
मिसावट पनि
काठमाडौँ उपत्यकामा पाइने मासुको अर्को तथ्य के हो भने, यहाँ मासुमा व्यापक मिसावट गरेको पाइन्छ । खसी बोकाको मासुमा बाख्रीको मासु, राँगाको मासुमा भैसीको मासु र जिउँदा कुखुराको मासुमा मरेका कुखुरा मिसाएर बेच्ने चलन काठमाडौंको लागि नौलो होइन् ।
कानुनका कुरा
मासु काट्ने र बिक्रि बितरण गर्ने कार्यलाई व्यवस्थित गर्न पशु बधसाला तथा मासु जाँच ऐन २०५५ अहिले कार्यान्वयनमा छ । उक्त ऐन र ऐनको आधारमा बनेको नियमावली २०५७ ले बधशाला सञ्चालन र मासु बिक्रि वितरण सम्बन्धी स्पष्ट मापदण्ड बनाएको छ ।
नियमावलीले प्रत्येक जनावर अनुसार फरकफरक बधशाला चाहिने स्पष्ट व्यवस्था गरेको छ । यस्तै छालासहितको मासु बिक्रिमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
कानुनमा यी प्रावधान उल्लंघन गरे दण्ड सजायको व्यवस्था समेत छ । यस्ता मापदण्ड र प्रावधान उल्लंघन गरिएको खण्डमा कसुर अनुसार ५ देखि २० हजार रुपैयाँसम्म जरीवानाको व्यवस्था गरिएको छ । सँगै कानुनले ३ महिना कैद वा दुवै सजाय समेत गर्न सक्छ । तर कानुन राम्रो त छ तर, प्रष्ट कार्यान्वयन भएको कतै पाइदैंन ।
मासु र मदिराका असर
अधिक मदिरा सेवनले शारीरिक सन्तुलन गुम्ने, नजिक टाढाको अनुमान लगाउन र कुनै चिज ठम्याउन गाह्रो हुने, बेहोश हुने तथा मृत्यु समेत हुन सक्छ । सर्वसाधारण मात्रै नभएर कतिपय चिकित्सकमा पनि मदिरा सेवनले एचडीएल नामक कोलेस्टरल बढाउने र घटाउने भएकाले मुटुलाई बचाउँछ भन्ने गलत धारणा छ । यथार्थमा मदिरा सेवनले कलेजो लगायत शरीरका अन्य अङ्गलाई हानी पु¥याउँछ ।
मदिराले शरीरको बाह्य भागको रक्तनलीलाई फुलाउने हुनाले शुरूमा ब्लडप्रेसर घटाउँछ तथा शारीरिक ताप नष्ट गराउँछ । त्यसैले विशेषतः जाडो मौसममा मदिरा सेवन अरू खतरनाक हुन्छ । मुटुको चाल घटबढ हुने, पाचन नलीमा सुजन, ग्यास्ट्राइटिस, अल्सर हुनुका साथै स्तन, खाद्यनली तथा आन्द्राको क्यान्सर पनि हुन सक्छ । मदिराले पुरुषमा नपुंसकता ल्याउने, अण्डकोष सुकाउने एवम् महिलामा महीनावारी गडबड गराउँदै हड्डी कमजोर बनाउँछ भने गर्भको शिशुलाई पनि हानि पु¥याउँछ । मदिरा सेवन गर्दा कलेजो, प्यान्क्रिर्याज ग्रन्थी, मधुमेह, उच्च कोलेस्टरल, युरिक एसिड, मिर्गौला, क्यान्सर, अल्सर, मुटु सुन्निने, रगत पातलो हुने सम्भावना पनि बढी हुन्छ । निरन्तर मदिरा सेवन गर्दा मानिसको आयु २० वर्ष घट्ने बताइन्छ ।
मदिराको मात्रा र असर
बियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने जीन, भोड्का, ब्रान्डी र ह्विस्कीमा बढी हुन्छ । ४० वर्ष नाँघेका पुरुषले दैनिक एक बोतल बियर वा एक गिलास (२५० मिलि) वाइन वा ६० मिलि हार्ड ड्रिक्स लिँदा त्यति फरक पर्दैन । तर, दैनिक यो भन्दा बढी पिउनुहुँदैन ।
मदिरा सेवन गरेको व्यक्तिको व्यवहार रगतमा हुने अल्कोहलको मात्रा अनुसार फरक हुन्छ । १०० मिलिलिटर रगतमा ३० मिलिग्राम अल्कोहल हुँदा खुशी हुने, ५० मिलिग्राम अल्कोहल हुँदा सामान्य हिंडडुलमा गडबडी आउने र १०० मिलिग्राम हुँदा देखिने गरी खुट्टा लरबरिने हुन्छ । त्यस्तै सोही परिमाणको रगतमा २०० मिलिग्राम अल्कोहल भएमा बिर्सने, ३०० मिलिग्राम अल्कोहल भएमा ढल्ने र ४०० मिलिग्राम अल्कोहल भएमा मानिस गहिरो निद्रामा पर्ने तथा मृत्युसमेत हुन सक्छ ।
कहिले र कसरी पिउने ?
मदिरा पिउने बानी लागेको छ भने पनि हरेक दिन तथा धेरै पिउनुहुँदैन । किनभने, सधैं र धेरै पिउँदा नकारात्मक असर पर्छ । मदिराको असर नियमित पिउनेलाई भन्दा कहिलेकाहिँ धेरै पिउनेलाई भन्दा बढी हुन्छ । निट भन्दा पानी वा सोडा मिसाएर पिउँदा कम असर पर्छ ।
एक युनिट मदिरा शरीरबाट निख्रिन करीब एक घण्टा लाग्छ, त्यसैले पिउनेहरूले धेरै समय लगाएर पिउनुपर्छ । आन्द्राको मदिरा सोस्ने प्रक्रिया खानेकुराले घटाइदिने हुनाले बढी स्न्याक्स खानु राम्रो हुन्छ ।
लतको उपचार
मदिरा सेवनकर्तामा अन्य मेडिकल समस्या आएमा, उपचार गर्न गाह्रो भएमा र मानसिक समस्या देखिएमा अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपर्छ । लत छुटाउन चाहनेलाई अस्पतालको शान्त कोठामा आराम गराई थायमिन, डेक्सट्रोज, बेन्जोडायजेपिन समूहको औषधि दिनुपर्छ । कतिपय औषधिले मदिराको चाहना घटाउँछन् । योग, ध्यान गराई आत्मनियन्त्रण गर्ने खुबी पनि विकास गराउनु उपयुक्त हुन्छ । मदिराको लत लागेकालाई व्यक्तिगत तथा समूहमा मनोगत सरसल्लाह (साइकोथेरापी) दिएर पनि गर्न सकिन्छ ।
नेपालमा दूध, मासु र अण्डाको उत्पादन÷उपभोग
विवरण उत्पादन उपलब्ध प्रतिवर्ष
प्रतिव्यक्ति आवश्यक कैफियत
मासु क्यान्सरको कारक बन्न सक्छ
मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रोग निम्त्याउने खतरा बढ्न सक्छ । रोगी, झोक्राएको, कचेरा लागेको पशुको मासु त खादै खानुहुन्न । कतिपय रोग पशुबाट मानिसमा सर्न सक्छन् । त्यसकारण मासु खादा स्वस्थ्य पशुको मासु खानु राम्रो हुन्छ ।
निरोगी पशुको मासुलाई पकाउँदा पनि ध्यान नदिए त्यो रोगको खानी बन्न सक्छ । पोलेको मासु, तारेको मासु र विभिन्न रसायन हालेर पकाइएको मासु क्यान्सरको कारक बन्न सक्छ । क्यान्सरको कारक कार्सीनोजेनीक यस्तो मासुमा बढी पाइन्छ । यसले आमासय र ठूलो आन्द्रालाई ‘इफेक्टेड’ गरेर क्यान्सरको जोखिम बढाउन सक्छ ।
मदिरा, चुरोट र मासु एकैसाथ खानुपनि रोग निम्त्याउने खालका बानी हुन् । यस्ता चिज अलग अलग खानु भन्दा सँगै खानु धेरै गुणा क्यान्सरको जोखिम निम्त्याउनु हो । नेपालमा ठूलो आन्द्रा र आमासयमा हुने क्यान्सरको मुख्य कारक तारेको, पोलेको र रसायनयुक्त मासु नै हो ।
मासु किन्दा ध्यानदिनुपर्ने कुरा
– मासु पसल सफा छ, छैन हेर्नुहोला
– मासु थलथल बगेको छ भने त्यस्तो मासु नकिनेकै राम्रो
– मासु फ्रिजमा राखेको छैन भने अस्वस्थ पनि हुन सक्छ ।
– गन्ध आएको मासु नकिन्नु होला ।
– खुला र बासी मासु अस्वस्थ्यकर हुन्छ ।
– दैनिकजसो मासु नखाएको राम्रो
– मासुसँग सागसब्जी, मुला, काँक्रा र गाजर पनि खाँदा राम्रो
– स्वस्थ्य र ताजा मासु बेस्सरी पकाएर मात्रै खाएको राम्रो
– विश्वसनिय पसलबाट मात्रै मासु किनेको राम्रो
– काँचो र डढेको मासु नखानु नै राम्रो
– बासी, सडेगलेको मासुले स्वास्थ्यलाई असर गर्दछ ।
मासु खाँदा उमालेको खाए राम्रो
दसैंमा मानिसहरूले अरु समयभन्दा बढी मासु खान्छन् । मासु सँगै रेशादार खाने कुरा पनि खानुपर्छ भन्ने हेक्का नहुँदा धेरै मानिस बिरामी पर्छन् । फलफूल, सागसब्जी सँगै काउली र ब्रोकाउली पनि दसैंमा खाएमा मासुले पु¥याउने हानी कम गर्न सकिन्छ । सामान्यत अन्य खाने कुरा १२ घण्टामा पचिसक्छ । तर, मासु पूर्णरुपमा पच्न २० घण्टा भन्दा बढी लाग्छ । त्यसैले मासु उमालेर वा सामान्य पकाएर खानु राम्रो हुन्छ ।
वि.सं.२०७५ असोज ३१ बुधवार ०९:५० मा प्रकाशित