६ कात्तिक, काठमाडौँ । ऐस्वेस्टस नामक हानिकारक रसायन नेपालमा आव २०७१÷०७२ मा २३ हजार मेट्रिक टन आयात गरिएको छ ।
सो रसायन आव २०७२÷०७३ मा १२ हजार मेट्रिक टन आयात गरिएको थियो । विभिन्न निर्माण सामग्रीका साथै इँटा र सिमेन्ट उद्योग, ढुङ्गा क्रसरमा तथा मोटरका पुर्जामा प्रयोग गरिने सो रसायनले अर्बुद जस्तो घातक रोग ल्याउने गर्छ ।
जनस्वास्थ्य तथा वातावरण केन्द्रले शुक्रबार सार्वजनिक गरेको ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य एवम् ऐस्वेस्टस राष्ट्रिय प्रोफाइल’ मा सो रसायन भारत, थाइल्यान्डलगायत मुलुकबाट आयात गरिँदै आएको जनाइएको छ ।
वातावरण मन्त्रालयका निमित्त सचिव नारायणराज तिमिल्सिनाले उक्त प्रोफाइल सार्वजनिक गर्दै ऐस्वेस्टस लगायत हानिकारक रसायनले मानव जनस्वास्थ्यमा नराम्रो असर गर्ने हुँदा त्यसको उपयोग घटाउन आग्रह गर्नुभयो ।
इन्जिनियर ऋषि शाहले गत वर्षको तुलनामा यसको आयात घटेकामा खुसी व्यक्त गर्दै अझै पनि यसको उपयोग न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक रामचरित साहले वातावरणमा प्रतिकूल असर पार्ने विभिन्न किसिमका रसायनको प्रयोग भइरहेकामा त्यसलाई नियन्त्रण गर्न र आयात रोक्नुपर्ने बताउनुभयो ।