२५ कात्तिक, काठमाडौँ (रासस) ः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान कार्यान्वयनका लागि आवश्यक सङ्घीय ऐन निर्माणको काम तीब्र गतिमा भइरहेको बताएका छन् ।
रिपोर्टर्स क्लबद्वारा शनिबार यहाँ आयोजित साक्षात्कारमा उनले कर्मचारी समायोजन ऐन तर्जुमाको अन्तिम चरणमा पुगेको तथा सङ्घीय निजामती सेवा ऐनसहित अरू थुप्रै ऐन प्रक्रियामा रहेको बताए ।
आफ्नो पूर्व प्रतिबद्धताअनुसार सरकारले असारको मसान्तभित्र प्रशासनिक सङ्क्रमणकाल अन्त्य गरिसकेको तथा कर्मचारी समायोजन पनि आगामी मङ्सिरको अन्त्यसम्म सम्पन्न हुने मन्त्री पण्डितको भनाइ थियो ।
स्थानीय तथा प्रदेशका लागि आवश्यक कर्मचारी भर्ना गर्नका लागि केन्द्रीय लोक सेवा आयोगबाट छिट्टै विज्ञापन गर्ने उनले जानकारी दिए । उनले स्थानीय तहलाई आवश्यक प्राविधिक जनशक्ति करारमा लिन मन्त्रालयले रोक नलगाइएको तर अनावश्यक भर्ना लिने नीति भने सरकारको नरहेको प्रष्ट पारे ।
मन्त्री पण्डितले विभिन्न मन्त्रालय, प्रदेश तथा स्थानीय तहले आफूअन्तर्गतको बजेट कार्यान्वयन गरी पूर्ण परिचालन भएपछि विकासको गतिले तीब्रंता लिने र परिणाम जनतासामु आउने बताए ।
वि.सं.२०७५ कात्तिक २५ आइतवार ०८:१० मा प्रकाशित






























