
१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल फेडेरेशन ( यूपिएफ) अर्वाड मन्त्रिपरिषद्को पूर्वस्विकृतिबेगर लिएको खुलेको छ । संविधान, शुसासन ऐन तथा नियमावली र विभूषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका व्यक्तिले विदेशी पुरस्कार, उपाधि वा विभूषण लिँदा मन्त्रिपरिषद्को पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । ओलीले युपीएफको १ लाख अमेरिकी डलरको ‘लिडरसिप एन्ड गभर्नेन्स अर्वाड’ लिँदा आफ्नै नेतृतव्को मन्त्रिपरिषद्लाई जानकारीसमेत नगराएको स्रोतले बताएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
संविधानको धारा २७७ मा नेपाल सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालका कुनैपनि नागरिकले वा विदेशी सरकारबाट प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्न नहुने व्यवस्था छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई अम्बेडकर पुरस्कार ग्रहण गर्नका लागि भारत जान पूर्वसहमति दिएको थियो । तर, त्यो र त्यअघिका बैठकमा प्रधानमन्त्रीले पाउने पुरस्कार बारे कुनै जानकारी नगराइएको मन्त्रिपरिषद् स्रोतले बतायो ।
वि.सं.२०७५ मंसिर १८ मंगलवार ०८:२८ मा प्रकाशित





























