३० पुस, चीन, बेइजिङ । अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका वाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताएका छन् ।
अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय भएको मन्त्री झोङ सानले बताए सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच अर्जेन्टिनामा भएका सहमतिलाई आधार बनाएर वार्तामा छलफल भएको र कुराकानी सकारात्मक दिशातर्फ अघि बढेको उनको भनाइ थियो ।
वाणिज्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले भनेको छ, “वार्ताबाट व्यापारबारे पारस्पारिक चासोका विषयलाई समाधान गर्न आधार खडा भएको छ । हामीले सावधानीपूर्वक चीन–अमेरिका आर्थिक तथा व्यापार विवादलाई यसै वर्षमा समाधान गर्छौँ ।”
झोङले भने, “बेइजिङले बाहिरी लगानीलाई पनि प्रोत्साहित गर्नेछ, वैदेशिक लगानीका लागि कानून अनुमोदन गराउने र विवाद समाधान प्रणालीमा सुधार ल्याउनेछ ।”
चीनका नीति निर्माताहरूले थप खुला र स्वतन्त्र बजारका लागि काम गर्न लामो समयदेखि प्रतिबद्धता जनाए पनि तर अधिकारीहरूद्वारा उक्त प्रतिबद्धतालाई कार्यान्वयनमा लाने कुरामा ढिलाइ भइरहेको छ ।
युरोपेली युनियन च्याम्बर अफ कमर्सले चीनको स्वतन्त्र बजारप्रतिको नीतिलाई ‘संवेदनरहित प्रतिबद्धता’ का रूपमा लिएको छ ।
झोङले भने, “चीनको नकारात्मक सूची, जसले निश्चित उद्योगहरूमा लगानी गर्न कडाई गरेको छ, लाई थप कमजोर बनाएको छ ।” बेइजिङले पनि आर्थिक क्षेत्र विस्तारमा देश बाहिरको लगानी भित्र्याउनका लागि चिनियाँ सरकारको संयुक्त सहकार्यविना नै खुला बनाउने पहल गरिरहेको छ ।
खासगरी विदेशी लगानी निर्माण, उच्च प्रविधिजन्य उद्योग र चीनको भित्री क्षेत्रमा लगानी गर्ने कुरालाई मन्त्री झोङले विशेष जोड दिनुभयो । यो विषय र गत वर्ष गरिएका प्रतिबद्धतामा भिन्नता खासै नपाइने युरोपको बुझाई छ ।
अमेरिकी लगानीलाई लक्षित गरी थप खुला क्षेत्रको सुनिश्चितता र आर्थिक सुधारका पक्षमा नै वाशिङ्टनसँगको वार्ता केन्द्रित रहेको थियो ।