९ माघ, क्वानझाओ, चीन । चिनियाँ पर्व, ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा चीनको प्रसिद्ध विमान कम्पनी ‘चाइना साउथर्न एअरलाइन’ ले सोमबार एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको छ ।
वसन्त ऋतुलाई स्वागत गर्ने पर्व, ‘स्प्रिङ फेस्टिभल’ लाई उल्लासमय पार्न विदेशमा रहेका तथा स्वदेमा रहने अधिकाँश चिनियाँ घर फर्कने गर्छन् । चाइना साउथर्नले सोमबार एक हजार आठ सय उडान भरेको र यसबाट तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको हो ।
पश्चिमा मुलुकहरूमा क्रिसमस मनाउने निहुँमा त्यहाँका नागरिक स्वदेश फर्केजस्तै चिनियाँ नयाँ वर्ष, जुन फेब्रुवरी ५ मा परेको छ, लाई स्वदेश फर्किने, पारिवारिक पुनः मिलन, रमाइलो र मीठो मीठो खाने तथा पिउने, पर्वका रूपमा मनाउने गरिन्छ ।
क्वानझाओमा मुख्य कार्यालय रहेको उक्त विमान कम्पनीले आफ्ना ८४० विमानमार्फत विश्वकै तेस्रो र एसियाकै सबैभन्दा धेरै उडान भर्ने गर्छ ।
विमान कम्पनीले यात्रुहरूको यात्रा अनुभव तथा विमान कम्पनीको दक्षतालाई समयसापेक्ष बनाउन विभिन्न डिजिटल प्रविधिको प्रयोग गर्ने गरेको साथै यसले चीनको फैलँदो नागरिक उडड्यन सेवाको मागलाई समयसापेक्ष सम्बोधन गरेको कम्पनीको दाबी छ ।
चाड अवधिभर अर्थात् जनवरी २१ देखि मार्च १ सम्म विमानमार्फत सात करोड ३० लाख चिनियाँले यात्रा गर्ने अनुमान गरिएको चीनको नागरिक उड्ययन प्रशासनले बताएको छ । यो गत वर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो ।
वि.सं.२०७५ माघ ९ बुधवार ०९:३१ मा प्रकाशित