३ फागुन, गलेश्वर । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीलाई रु २१ हजार बराबरका सामग्री सहयोग गरेका छन् ।
अध्यक्ष भण्डारीले कापी, कलम, मादल, सारङ्गी, पेनड्राइभ, स्पिकर, कम्प्युटरको किबोर्डलगायतका शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।
विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले स्रोत कक्षाका बालबालिका र स्रोत शिक्षक गणेश सुवेदीलाई सो सामग्री हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्षका रुपमा प्राप्त हुने सेवासुविधाको रकमलाई अध्यक्ष भण्डारीले कोषका रुपमा जम्मा गरेर सामाजिक क्षेत्रमा खर्चिने गरेका छन् । कोषबाट यसअघि अध्यक्ष भण्डारीले बेग, पाखापानी, झिँ र भगवतीका १५ घरपरिवारका ७५ जना असहाय, अपाङ्गता भएका र विपन्न परिवारका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिएका छन् ।
शिख देउरालीमा पुख्र्यौली नाच प्रदर्शन
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा ‘शिख पुख््र्यौली समूह’ द्वारा पुख्र्यौली नाच प्रदर्शन गरिएको छ । परम्परागतरुपमा पूर्खादेखि गाउँदै बजाउँदै र नाचिँदै आएकाले यसलाई पुख्र्यौली नाच भन्ने गरिएको हो । यो नाच लोप भएर नजाओस र यसलाई जगेर्ना गर्न सकियोस भन्ने उद्देश्यले नाच प्रदर्शन गरिएको सेते तिलिजा पुनले जानकारी दिएका छन् ।
‘शिख पुख्र्यौली समूह’ ले गाउँमा कसैको छेवर, विवाह आदि संस्कारमा यो नाचलाई प्रदर्शन गर्ने गरेको तिलिजा पुनले जानकारी दिए । यस नाचमा कलाकारलाई खादा लगाइदिइ र शिरको टोपीमा पैसा घुसारी सम्मान गर्नुका साथै झेली र मादलकोसमेत पूजा गर्ने गरिन्छ ।
नाचको लागि एक जना गुर मादले हुने गर्दछ भने अन्य सहायक मादले हुन्छन् । त्यसैगरी एक जनाले भट््याएर आर्शिवाद प्रदान गर्ने गर्दछन भने अरु कलाकार गोलाकाररुपमा नाच्ने गर्दछन् ।
शिखमा हालै प्रदर्शन गरिएको पुख्र्यौली नाचमा रु ३९ हजार १८५ सङ्कलन भएको र सो रकम गाउँको विकासमा लगाइने तिलिजा पुनले जानकारी दिएका छन् ।
निःशुल्क आँखा शिविरबाट करीब ५०० जना लाभान्वित
म्याग्दीको बेनी नगरपालिका वडा नं ९ तोरीपानीमा बुधबार सम्पन्न निःशुल्क आँखा शिविरबाट करीब ५०० जना लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी घतान उपशाखाको आयोजना, जुनियर रेडक्रस सर्कल गलेश्वर मावि तोरीपानीको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी म्याग्दीको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क आँखा शिविरमा तोरीपानी, धुरीकोट, ढोल्ठान, घतान, काफलबोट, पात्लेखेत, ओख्लेलगायतका गाउँबाट उपचारका लागि आएका गलेश्वर मावि तोरीपानीका शिक्षक चन्द्रबहादुर लामिछानेले जानकारी दिएका छन् ।
शिविरमा विद्यार्थी, अभिभावक, सर्वसाधारण गरी ४८० जनाले आँखा जाँच गराएकामा १६ जनालाई चस्मा वितरण गरिने जनाइएको छ । शिविरमा बेनी अस्पतालका चिकित्सक दिनेश बानियाँले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।
सोही अवसरमा चिकित्सक बानियाँलाई सम्मानसमेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमानसिंह बानियाँले चिकित्सक बानियाँ अबिर र खादा लगाएर सम्मान गरेका थिए ।
वि.सं.२०७५ फागुन ३ शुक्रवार १३:३४ मा प्रकाशित