
३ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अष्ट्रेलियाले अक्षकोष निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
संघको केन्द्रीय कार्यालयमा शुक्रबार एक कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण गरिएको थियो ।
परोपकारी परियोजना अन्तर्गत न्यून आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने योजना अनुसार नेपालका ९ वटा जिल्लाका विद्यालयहरुमा एक अक्षयकोष खडा गर्नका लागि प्रत्येक विद्यालयलाई रु १ लाखका दरले सहयोग प्रदान गरिएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टद्धारा रकम हस्तान्तरण गरिएको हो । अध्यक्ष भट्टले गैरआवासीय नेपाली संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालको विविध क्षेत्रहरुमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको जानकारी दिएका थिए ।
अध्यक्ष भट्टले भविष्यमा संघले नेपाल र विदेशमा रहेका विद्यालयवीच समन्वय गराउनको लागि मितेरी विद्यालय अवधारणा ल्याउने बताउँदै पुनित कार्यमा सहयोग गर्ने एनसिसि अष्ट्रेलियाका कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु लगायत सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेका थिए ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान युवा संयोजक विजय पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
त्यस्तै सहयोग गरिएका विद्यालयहरुमा श्री दुर्गा मावि– ताप्लेजुङ, राष्ट्रिय प्राथमिक विद्यालय–सप्तरी, बच्छला मावि–नुवाकोट, मंडली मावि–धादिंग,जनज्योति मावि–लम्जुङ, प्रभात प्राथमिक विद्यालय–काश्की, श्री रारा आवासीय विद्यालय–बाँके, थिगेल्नी देवी आधारभूत विद्यालय–कालिकोट र चन्द्र नाथ प्राथमिक विद्यालय–बाजुरा रहेका छन् ।
सो अवसरमा ओसेनिया क्षेत्रका क्षेत्रीय उपसंयोजक लोक नाथ पौडेल, अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य उषाकिरण बारीया, अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान युवा संयोजक विजय पोखरेल, एनसिसि रसीयाका अध्यक्ष रामेश्वर गौंतम, एनसिसि अष्ट्रेलियाका पूर्वअध्यक्ष महेन्द्र ओली, एनसिसि रसीयाका पूर्वउपाध्यक्ष सन्तोष केसी, एनसिसि जर्मनीका महासचिव टंक लम्साल, विद्यालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
वि.सं.२०७५ फागुन ३ शुक्रवार १६:३२ मा प्रकाशित