५ फागुन, काठमाडौं । रोजगारीका क्रममा विभिन्न देश पुगेर फर्किएका नेपालीहरुको संस्था रिर्टनी माइग्रेन्ट नेपालको प्रदेश नं १ को प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ ।
लायन्स क्लब इटहरीको सभाहलमा शनिबार सफलतापूर्वक सम्पन्न भएको उक्त भेलाले संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरलाई पछि समेटिने गरी प्रदेश नं १ को कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा गोकुल बहादुर थापा, उपाध्यक्षमा केशव श्रेष्ठ, सचिवमा भरत शिवाकोटी, सहसचिवमा उत्तम श्रेष्ठ सेन, कोषाध्यक्षमा संगीता कार्की र सदस्यहरुमा डिल्ली हुमागाइँर्, ऋतु बास्तोला, गोपाल भण्डारी, भिम कुमार लकान्द्री, राजु भट्टराई, खगेन्द्र कार्की, भोलाकाजी पुरी, उमेश देउजा, मिनध्वज कार्की, देवेन्द्र सुवेदी, रमेश कुमार तामाङ, योगनारायण सिक्दार, चित्रा श्रेष्ठ र जयनारायण यादव रहेका छन् ।

अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, मलेसिया, कतार, ओमान, बहराइन, कुवेत, युएइ लगायतका देशमा विभिन्न रोजगारी गरेर फर्किएका झण्डै ३ सय भन्दा बढीको सहभागी रहेको उक्त भेलामा प्रदेश नं १ का कानुन तथा आन्त्रिक मामिलामन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, प्रदेश सभाका सदस्यहरु सर्वध्वज साँवा, उपेन्द्र घिमिरे, लिलम बस्नेत, रिट्रनी माइग्रेन्ट नेपालका केन्द्रिय अध्यक्ष, महासचिव, सदस्य, सल्लाहकार तथा लगानी बोर्डका अध्यक्ष, प्रदेश नम्बर ४ (गण्डकी प्रदेश) तथा प्रदेश नम्बर ५ का अध्यक्षहरु, रिट्रनी माइग्रेन्ट नेपाल प्रदेश १ र त्यस अन्तरगतका जिल्ला कमिटिका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

नवगठित कार्यसमितिका अध्यक्ष थापाले पूर्वप्रवासीहरुका लागि केही गर्ने जिम्मेवारी आफ्नो काँधमा थपिएको बताउँदै विदेशबाट फर्किएर उद्यमममा लाग्नु भएका सबै साथीहरुलाइ सहयोग गर्दै अगाडि बढ्ने संसारन्युजलाई बताए । साझा हित र पवित्र उद्धेश्य लिएर गठन गरिएको संस्थामा सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताएका थापाले नेतृत्व लिइरहँदा खुसी भएको तथा उत्तिकै रुपमा चुनौती पनि थपिएको बताए ।

संगठित हुँदा नै सबैको हित हुने भएकोले छुट्नु भएका साथीहरुलाई संगठित हुन समेत अध्यक्ष थापाले अनुरोध गरेका छन् ।
वि.सं.२०७५ फागुन ५ आइतवार ११:३० मा प्रकाशित





























