
१८ फागुन, विराटनगर । मोरङको जहँदा गाउँपालिमा १ र २ को सिमानास्थित पिपरा घाट भएर बग्ने सिंघीया खोलामाथि बासको भाटा प्रयोग गरेर कच्ची पुल बनाइएको छ । यो पुल भारतीय नागरिक ७५ वर्षीय जगमलाल रामले कार्तिकमा बनाएका हुन् । भारत बिहार फूल काहीका राम त्यहि पुलको छेउमा श्रीमतीसँगै बस्छन् । उनी बस्ने जमिन भने नेपालको हो । चार छोराछोरी भारमै बस्छन् । प्रत्येक वर्ष कात्तिकमा बासको भाटा प्रयोग गरी उनी पुल बनाउँछन् । त्यो पुलले एक बर्ष धान्छ । बाँसका भाटा मक्किन थालेपछि राम नयाँ पुल बनाउँछन् ।
पुल बनाउन लाग्ने खर्च सबै उनको हुन्छ । बाँसका भाटा प्रयोग गरेर बनाइएको पुल ३२ फिट लामो पुल हुँदै स्थानीय बासिन्दालाई खोला तर्न केही सहज भएको छ । स्थानीय साइकल र मोटरसाइकल सहित यहि पुलबाट तर्छन् । तर, रामले पुल प्रयोग गरेबापत पैसा लिदैनन् । उनलाई स्थानीयले बार्षिक रुपमा अन्न बुझाउने गर्छन् । पुल प्रयोग गरेबापत वर्षको ४० पाथी अन्न रामलाई बुझाएको स्थानीय सुनील राजवंशी बताउँछन् । आफ्नो हैसियत अनुसार अन्न बुझाउँदा रामले सहज स्वीकार गरेको पनि स्थानीय बताउँछन् ।
शनिबारको अन्नपूर्णपोस्ट दैनिकमा विराटनगरबाट जितेन्द्रनारायण ठाकुरले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १८ शनिवार ०७:५२ मा प्रकाशित





























