
२१ फागुन, दमक । नौ वर्षकी पल्पसा आमा कल्पना योङहाङ लिम्बूका अगाडि टोलाएर बस्छिन् । कल्पना कलेजो बिग्रिएर आठ महिनादेखि थला परेकी छन् ।
मलेसिया गएका उनका श्रीमान राम बहादुर १० वर्षसम्म फर्किएका छैनन् । ‘मलेसिया पुगेको दुई वर्ष सम्म त फोन सम्पर्क थियो, ४० वर्षीया कल्पनाले आँसु झार्दै भनिन्, त्यपछि सम्पर्क टुट्यो । कति खोजी गरे पत्तो छैन् ।’ आमा छोरी झापाको दमक १ मा डेरा लिएर बसेका छन् ।
केही खायो कि उनको पेट फुलिने समस्या छ । चिकित्सकका अनुसार कलेजो १० प्रतिशत मात्र बाँकी छ । सुरुमा जन्डिस भएको उनले सुनाईन् । आर्युवेर्दिक औषधिले ठीक गरेको थियो । तर, पित्तथैलीको पत्थरीया शल्यक्रिया पछि उनी ओछ्यानमा परेकी हुन् । डेढ वर्ष औषधि खाँदा ८५ प्रतिशत ठीक अवस्थामा पुगेको थियो । विराटनगरको नोबेल अस्पतालमा शल्यक्रिया गरेपछि समस्या बल्झिएको उनको भनाई छ । डाक्टरले उनलाइ आराम गर्न र पौष्टिकतत्व युक्त खानेकुरा खान सुझाउने गरेका छन् । ‘डाक्टरले त पोसिलो खानेकुरा खानु कलेजो आफै पलाउँछ भन्नु भएको छ,’ उनले भनिन्, ‘तर, के गर्नु आफूसँग अण्डा किनेर खाने पैसा समेत छैन् ।’
डेरा भाडा महिनाको तीन हजार बुझाउनु पर्ने बताउने उनको पेटबाट पानी फाल्न पनि सातामा १ हजार ५ सय लाग्ने आफन्त पूजन लिम्बूले बताए ।
मंगलबारको अन्नपूर्ण दैनिकमा दमकबाट लोकनाथ रिजालले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २१ मंगलवार ०८:०९ मा प्रकाशित