१ चैत, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उनले चाडबाड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
मन्त्री यादवले भने, “पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै नै बेथिति देखिएकाले यसको पनि नियमित अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय सहयोग गर्न तयार छ ।”
रकमको हिसाबले धेरै थोरै जे भए पनि उपभोक्तालाई ठगी गर्नेहरु सबैभन्दा ठूलो भ्रष्टाचारी भएको उल्लेख गर्दै उनले त्यस्ता व्यक्ति र निकायलाई कानूनी कारवाहीको दायरामा ल्याउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताएका छन् ।
मन्त्री यादवले सरकारले विगतको एक वर्ष काम गर्ने खाका तयार गरेको भन्दै आगामी चार वर्ष जनताको चाहनाअनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
विभागका महानिर्देशक योगेन्द्र गौचनले गत कात्तिकदेखि नयाँ ऐन कार्यान्वयनका आएपछि अनुगमन अधिकृतहरुलाई बजार अनुगमन गर्न सहज भएको बताए ।
नयाँ ऐनअनुसार अनुगमन अधिकृतले गलत साबित गरे आवश्यकतानुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने व्यवस्था छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सबै स्थानीय तहमा उपभोक्ता सचेतना केन्द्र स्थापना हुनुपर्नेमा जोड दिए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवकोे हालसम्ममा १०५ व्यवसायको अनुगमन गरी कारवाही स्वरूप रु २५ लाख असुल गरेको छ ।
वि.सं.२०७५ चैत १ शुक्रवार १६:०३ मा प्रकाशित





























