१५ चैत, काठमाडौं । कर्णाली प्रदेशका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्धय अमर बहादुर थापा र सीता नेपालीलाई झुक्याएर दलालले उनीहरुको नाम बेचेर अन्य व्यक्तिसँग लाखौं उठाएका हुन् ।
ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने ‘महिला हिंसा र छाउपडी’ विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि संसदद्धयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए । आवेदन अस्वीकृत भएपछि सांसदसँगै अन्य व्यक्ति पनि ठगिएको खुलेको हो ।
रोल्पाका भरत डाँगीले सांसदद्धयलाई क्यालिफोर्नियामा हुने कार्यक्रममा सहभागी हुन प्रस्ताव गरेका थिए । लगत्तै अमेरिकाबाटै केशब बहादुर कार्कीले फोन गरेर निम्ता दिएको पनि सांसद थापाले बताए । ‘महिला सम्बन्धी विषयमा महिला सांसदलाई बोलाउनु पर्छ भनेपछि कार्कीले सीता नेपालीसँग पनि कुरा गरेका रहेछन ।’ उनले भने । सांसद थापासँग पहिल्यै अमेरिकाको भिसा भएकाले उनले श्रीमतीका नाममा भिसा आवेदन दिएका थिए भने सांसद नेपालीले रातो पासर्पोट लिएर भिसा आवेदन दिएकी थिइन् । उनीहरुसँगै दलालले अन्य व्यक्तिको समेत आवेदन बुझाएका थिए तर दूतावासले कसैलाई पनि भिसा दिएन ।
अमेरिका जान तयार भएकालाई रोल्पाका भरत डाँगी र मीना वलीको खातामा पैसा जम्मा गर्न लगाइएको थियो । सांसद थापाका अनुसार उनीहरुले १० जना भन्दा बढीबाट लाखौं रुपैयाँ ठगी गरेका थिए । शुक्रबारको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र कलेन्द्र सेजुवालले लेखेका छन् ।
वि.सं.२०७५ चैत १५ शुक्रवार ०७:२४ मा प्रकाशित