
हुन त मानबबाटै त हुने हो गल्ती । जनावरबाट त्यस्ता गल्ती हुँदैनन् । जनावरले गल्ति गरेको देखिदैंन र जनावरले गरेको गल्तीलाइ कसैले पनि जनावरले यस्तो गल्ती गर्यो भनेर कहि कतै उजुरी दिदैन र परे पनि मानिसलाइ जोडेर बिरलै गरीन्छ । तर, मानब, यो श्रृष्टिको सर्वश्रेष्ठ प्राणी मानिन्छ । तर, कहिलेकाँही त्यहि सवश्रेष्ठ प्राणीले गरेको हरकतले सबै मानबलाई आफू मानव भएकोमा लज्जाबोध गराइदिन्छ ।
हिजोआज अखबारमा आएका यस्तै घटनाले के २१ औं शताब्दिको मानब समाज अनि मानव सभ्यता यहि हो त भनेर एकपटक घोत्लिन बाध्य बनाएको छ । अखबारमा छाएका यस्ता घटनाले एकाबिहानै धेरै मानिसको मथिंगल नराम्ररी हल्लाइदिएको छ । ती घटना, घटाउनेले सामान्य प्रक्रियाबाट उन्मुक्ति पाएको समाचारले मानिस, मानिस नै होइन कि भन्ने पनि बनाइदिएको छ । ती व्यक्तिहरु समाजमा कलंक बनेर चर्चामा आइरहेका छन् । सायद त्यसै भनिएको होला ‘मलाई बाघ भालु सँग होइन, म जस्तै मानबबाट बचाइदेउ भगवान’ भनेर ।
घटना नं १–बारा परवानीपुरकी ४३ वर्षीया सुनिता यादव आफ्नै पतिको कुटाइबाट गम्भीर घाईते भएपछि उपचारका क्रममा ज्यान गुमाएकी छन् ।
उनका डाक्टर श्रीमान सचितानन्द यादवको कुटाइबाट सुनिताको मृत्यु भएको उनका माइतीपक्षले दावी गरेका छन् । यादवको शुक्रबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
१५ वर्ष अगाडि वीरगन्ज महानगरपालिका २० हरपतगन्जका सचितानन्दसँग विहे गरेर भित्रिएकी थिइन् सुनिता । त्यतिबेला सुनिताले दाइजोको रुपमा २० लाख रुपैयाँ सचितानन्दको घरमा आफूसँगै लिएर आएकी थिइन् । त्यहि पैसामा सचितानन्दले डाक्टरी पढेको पनि सुनिताका भाइ सन्तोषको आरोप छ । त्यतिमात्र नभएर सुनिताले बिहे गरेर घर गर्र्ने क्रममा सुरुवाती दिनमा माइतीबाटै दाल, चामल र तेल समेत ल्याएर सचितानन्द र उनको परिवारलाई खुसी पारेकी थिइन् । तर, विधिको विडम्वना नेपाली संस्कार न हो । विहे गरेको लामो समयसम्म श्रीमतीबाट बच्चा भएनन् भने श्रीमानका परिवार र समाजले उसलाई अर्को बिहे गर्न छुट दिन्छ । त्यस्तै सुनिताको पनि बिहे गरेको लामो समय सम्म बच्चा भएनन् ।
सचितानन्द आफै पनि डाक्टर थिए । श्रीमतीले बच्चा नजन्माएर के भो त, काखमा बच्चा खेलाउने रहर पु¥याउनका लागि अन्य धेरै मेडिकल उपाय थिए । तर, उनले त्यतातर्फ सोचेनन् । उनले आफ्नो पुरुषत्वमा खोट छैन, खोट श्रीमतीकै हो भन्ने देखाउनका लागि रक्सौलकी एक युवतीसँग दोस्रो विवाह गरेका थिए । उनी २ बच्चासहित वीरगन्जमा बस्दै आएका थिए ।
सुनिताको स्वास्थ्य अवस्था ठिक नभएको गत साता बुधबार बिहान उनका दाइ विजयलाई खबर पुगेको थियो । त्यसपछि विहिबार बिहान हरपतगन्जबाट माइती लगिएकी सुनिता मानसिक तनावमा थिइन् । उनी टोलाएर बस्ने र कसैसँग बोल्न चाहन्थिनन् । पछि भाउजुहरुले उनलाई नुहाइदिने क्रममा सुनिताको शरिरभरी निलो डाम देखेपछि अस्पताल लगेका थिए ।
चैत ६ गते बुधबार फागुपूर्णिमाको दिन कुटिएकी सुनितालाई चैत ११ गते सोमबार वीरगन्जस्थित गण्डक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, उनको अवस्था गम्भीर भएकाले गण्डक अस्पतालले सोहि दिन राति काठमाडौं रेफर गरेको थियो । सोमबार काठमाडौं रिफर गरिएकी सुनिताको शुक्रबार उपचारका क्रममा त्रिविशिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
उता डाक्टर सचितानन्दले भने आफूले श्रीमतीलाई नकुटेको र शरीरको निलो डाम प्लेटलेसको कमिले देखिएको भनेर प्रहरीलाई जवाफ दिएका छन् । उनी आफू पनि विरामी भएको बहाना बनाएर सोमबारदेखि नै आफू कार्यरत नारायणी अस्पतालमा भर्ना भएको सुनिताका भाइको आरोप छ ।
सुनिताका माइती पक्षले डा. यादवविरुद्ध ज्यानमार्ने उद्योग सम्बन्धी उजुरी दिएका छन् । अनुसन्धानका लागि प्रहरीले बोलाउँदा पनि विरामी भएको बहानामा प्रहरी कार्यालयमा उपस्थित नभएका सचितानन्दलाई क्रसचेक गर्न सकिने एसपी रेवती ढकालले बताएका छन् ।
घटना नं २
काठमाडौंको गोर्कणेश्वरका गोपाल कारन्जितले एक ट्याक्सी ड्राइभरको अमानवियताका कारण ज्यान गुमाउनु परेको छ । बुधबार छाति दुखेर सामान्य चेक जाँच गराउन चाबहिलस्थित मेडिकेयर अस्पतालमा पुगेका उनले चेक जाँच गराएर फर्कने क्रममा ज्यान गुमाउनु परेको हो ।
गोर्कणेश्वरबाट कारन्जितका छोराले स्कुटरमा राखेर कारन्जितलाई मेडिकेयरसम्म ल्याएका थिए । त्यहाँ चेकजाँज पछि डाक्टरले घर जान हुन्छ भनेपछि बाबुछोरा अस्पतालबाट बाहिरीएका थिए । उनीहरुले त्यहाँ बसेर चिया पनि खाएका थिए । धुलो र धुँवा अनि कमजोरी महसुस गरेपछि कारन्जितका छोराले बुवालाई ट्याक्सीमा चढाइदिएर आफू स्कुटरमा घर गए ।
ट्याक्सीमा चढेलगत्तै बेहोस भएका उनलाई दोलखा घर भई काठमाडौंमा बा १ ख ३८५१ नम्बरको ट्याक्सी चलाउने कमल बहादुर श्रेष्ठले मानवियताको परकाष्ठा नै नाघेर कारन्जितमाथि निर्दयी व्यवहार गरे । १ सय मिटर उकालोमा रहेको मेडिकेयर, ५० मिटर तल रहेको ओम अस्पताल र नजिकै रहेको हेल्पिङ हेन्डस अस्पतालमा उपचारका लागि नलगेर, छेउमा रहेका मान्छेको गुहार नमागी उनीहरुका आँखा छलेर व्यस्त सडकको छेउमा ट्याक्सी रोकेर किनारमा कारन्जितलाई फ्याकेर उनी ट्याक्सी हुइकाउँदै भागेका थिए । तर, उनले गरेको अमानविय करतुत कसैबाट पनि छिप्न सकेन । बेहोस भएका कारन्जितलाई स्थानीयले प्रहरीलाई खबर गरेपछि अस्पताल लगिएको थियो । तर, अस्पतालले उनको मृत्यु भएको घोषणा गरिदियो ।
बेहोस् हुनासाथ ड्राइभर श्रेष्ठले उनलाई अस्पताल लगिदिएको भए कारन्जितको बाँच्न सक्ने सम्भावना रहेको उनको परिवारले जनाएको छ ।
कारन्जितलाई प्mयाकेर पाप लुकाउन हुइँकिएका श्रेष्ठलाई प्रहरीले सिसि टिभी फुटेजको सहाराले पक्राउ गरेको छ । पक्राउ परेका उनले आफू डराएका कारण यस्तो अमानविय कार्य गरेको प्रहरी सामु स्वीकारेका छन् । उनीमाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।
घटना नं ३
धनकुटाका एक बाबु, बाबुको नाममा कलंक बनेका छन् । उनले आफ्नी १६ वर्षीया छोरीलाई ८ महिनादेखि बलात्कार गर्दै आएका थिए । स्कुल पढ्ने ती किशोरीको शरीरमा परिवर्तन देखेपछि स्कुलकी शिक्षिकाले सोधपुछ गर्दा उनी गर्भवती भएको रहस्य खुलेको थियो ।
धनकुटाको चौविसे गाउँपालिकाका ती व्यक्तिले ८ महिनादेखि छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो ।
ती बाबुले पटक–पटक डर देखाउँदै छोरीलाई बलत्कार गरेका थिए ।
बलात्कार गरेर छोरी गर्भवती बनाएको पृष्टि भएपछि अहिले ती बाबुलाई जिल्ला अदालतले जन्मकैद सुनाएको छ । न्यायाधिश विनोद कुमार पोखरेलको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । फैसलामा क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ भराउने समेत भनिएको छ ।
घटना नं ४
समाजका धेरै महिलाहरु पटक–पटक कथित बोक्सीको नाममा कुटिइरहेका छन् । स्वयं प्रधानमन्त्रीले कथित बोक्सी हुँदै नहुने र कोही बोक्सी छ भने आफूलाई खाओस् भनेर सार्वजनिक रुपमा बोलेर यस विषयमा जनतामाझ जनचेतना जगाउने कोशिषमा लागेका छन् । बोक्सी सम्बन्धी समाजमा पनि जनचेतनाका कार्यक्रमहरु गरिएको छ । प्रहरी प्रशासन पनि सक्रिय रुपमा यस्तो कुप्रथा हटाउनका लागि, लागि परिरहेको छ । तर, पनि समाजमा मानिसहरु एकअर्कामा बोक्सीको आरोप लगाएर एकले अर्काको मानब अधिकार हनन गरिरहेका छन् ।
कानुनले यस्ता कार्य गर्न बर्जित गरिरहेका बेला मानिसहरु आफ्नो रिसइबी साँध्नकै लागि एकले अर्कोलाई यस्ता खालका गम्भीर आरोप लगाउँदै अमानविय व्यवहार गर्दै आइरहेका छन् ।
यस्तै पछिल्लो घटना हो ५ चैतको । ५ चैतमा पथरी शनिश्चरे नगरपालिकाकी शारदा बराइलाई सोहि गाउँका एक दर्जन युवा युवतीले कालो मोसो लगाएर चरित्रहिनको आरोप समेत लगाए ।
आफूले दिएको ऋण माग्दा शारदाका छिमेकी पारस लिम्बूको समुहले ३० वर्षीया शारदालाई चरित्रहिनको आरोप लगाउँदै कुटपिट गरेका थिए ।
आफूमाथि कुटपिट भएपछि प्रहरीमा जाहेरी दिएकी थिइन् उनले । तर, पक्राउ परेका उनीहरुलाई शुक्रबार मोरङ जिल्ला अदालतले जनही ४ हजार धरौटी लिएर दोषि रहेका पारस लिम्बू, गोमा खड्का, प्रमिला लिम्बू, शनिश्चरे नगरपालिकाकी बोर्ड सदस्य गीता विश्वकर्मा र उषा लिम्बूलाई छोडेको छ ।
शारदाले यस विषयमा आफूसँग झुटो बयानमा सहि गर्न लगाएर धोका दिएको आरोप लगाएकी छन् । उपचार गरेर घर फर्किने क्रममा सादा पोसाकमा आएका प्रहरीले बाटो निर्माणको कागजमा सहि गरिदिनोस् भनेर झुटो बयानमा सहि गर्न लगाएर दोषिहरुलाई उन्मुक्ति दिएको आरोप शारदाको छ । यो घटनालाई लिएर दलित अगुवाहरु आन्दोलित भएका छन् ।
यी ४ घटनाले समाजमा उदण्डता झन भन्दा झन बढ्दै गएको देखाउँछ । जनताको रक्षा गर्न बनाइएको कानुनको खिल्ली उडाएको देखिन्छ । अझै ट्याक्सी चालकको व्यवहारले त समाजमा सबै मानिसलाई मानवियता हराएको होकी भनेर आफैभित्र एकपटक मानवियता छ कि छैन भनेर खोजि गर्नुपर्ने बनाइदिएको छ भने छोरी बलत्कार गर्ने कलंकहरुलाइ देख्नै नपर्नै खालको सजाय माग गरिरहेको छ ।
वि.सं.२०७५ चैत १६ शनिवार १५:४६ मा प्रकाशित