
६ जेठ, ओखलढुंगा । खिजिदेम्बा गाउँपालिका ९ छेर्मादिङस्थित शिवालय माविमा फेरि शेर्पा भाषामा पठनपाठन सुरु भएको छ ।
नयाँ शैक्षिक सत्रदेखि स्थानीय विषय अन्तर्गत कक्षा १ र २ सम्म शेर्पा भाषामा पढाई हुन थालेको प्रधानाध्यापक भानुभक्त नेपालले बताए । उनका अनुसार विद्यालयको आन्तरिक स्रोतबाट पाठ्यपुस्तक र शिक्षकको व्यवस्था गरिएको छ ।
‘हिमाली शिशु उपहार’ नामक पाठ्यक्रम लागू गरेपछि विद्यार्थीले शेर्पा भाषा र साम्भोटा लिपि अध्ययन गर्नेछन् । शेर्पा संस्कृति र बौद्ध संस्कार पनि सिकाइने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लाक्पा गेल्जे शेर्पाले बताए । यो ठाउँमा शेर्पा जातिको बाहुल्य छ ।
यो विद्यालयमा केहि वर्षअघि पनि स्थानीय भाषाको पाठ्यक्रम लागू गरिएको थियो । सोमबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ जेठ ६ सोमवार ०८:३९ मा प्रकाशित





























