
१७ जेठ । १२ औं संस्करणको एकदिवसीय आईसीसी विश्वकप क्रिकेट(Cricket World Cup 2019) को पहिलो खेलमा आयोजक देश इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ ।
बिहिबार भएको उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गर्दै इंग्ल्याण्डले आफ्नो विजयको खाता सुरु गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउंदै ३ सय ११ रन बनाएको थियो ।
द ओभल रंगशालामा भएको खेलमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको फराकिलो लक्ष्य पछयाएको दक्षिण अफ्रीका ३९ ओभर ५ बलमा अलआउट हुँदै २०७ रनमा समेटियो ।
इंग्ल्याण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका बेन स्टोक्स प्लेयर अफ दि म्याच बने । जितसंगै इंग्ल्याण्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ ।
इङ्ग्ल्याण्डले उद्घाटन कार्यक्रममा जित हाँसिल गरेको यो पाचौँ पटक हो । यसअघि सन् १९७५, १९७९, १९८३ र १९९९ को वल्र्ड कपको उद्घाटनमा जित हासिल गरेको थियो ।
६ खेलाडलाई अर्धशतक
उक्त खेलमा दक्षिण अफ्रिकाका २ र इङग्ल्याण्डका ४ खेलाडीले अर्धशतक बनाएका छन् ।
दक्षिण अफ्रीकाका लागि क्विनटन डी कक र भान डेर डुसेनले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उसका डी ककले ६८ रन जोड्दा डुसेनले ५० रनको योगदान गरे ।
त्यसैगरी इंग्ल्याण्डको उच्च स्कोरमा ४ खेलाडीले अर्धशतक बनाए । ओपनर जोन्नी बेस्ट्रो खेलको दोस्रो बलमा गोल्डेन डक आउट भएपनी जासन रोय र जोय रुटले अर्धशतकीय इनिङ्स खेल्दै इंग्ल्याण्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
दोस्रो विकेटको रुपमा आउट भएका रोयले ५४ रनको इनिङ्स खेल्दा रुटले ५१ रन बनाए ।
कप्तान इयान मोर्गनले ३ छक्का र ४ चौकाको मद्दतले ५७ रन बनाए ।
यस्तै अलराउण्डर बेन स्टोक्सले इङ्ल्याण्डलाई सबैभन्दा बढी रन बनाएका थिए । उनले ९ चौका प्रहार गर्दै ८९ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । स्टोक्स म्यान अफ दम्याचबाट चुनिएका छन् ।
क्रिकेटको दोस्रो खेलमा आज (शुक्रबार) पाकिस्तान र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । (एजेन्सी)
वि.सं.२०७६ जेठ १७ शुक्रवार ०८:२५ मा प्रकाशित



























