
२३ चैत, कास्की । गरे के हुँदैन यो देशमा ! सवल अनि दुर्वल भनिने जसले पनि पौरख जाँगर गर्दा देशमै जे पनि फलाउन सकिन्छ अनि गर्न सकिन्छ । मेनहत मात्र नभएर आँट, साहस, सकारात्मक सोँचे अनि आफूजन्मेको धर्तिको माटोको माया पनि चाहिन्छ समाजमा अगाडि बढ्नका लागि ।
पोखराका ५० वर्षीय अमृत तुलाचन दृष्टिविहिन हुन् । तर, उनको सीप र मेहनताको चर्चा देशदेखि विदेश सम्म फैलिएको छ । उनकै भनाई सापटी लिने हो भने, ‘दुर्वल हुँदैमा कामगर्न नसकिने भन्ने होइन, हरेश नखाइ संघर्ष गर्नुपर्छ ।’
अमृतकै संघर्ष र मेहनतका कारण उनकी श्रीमती, दुई छोरा र एक छोरीसहितको सिंगो परिवार पनि पालिएको छ ।
अन्नपूर्ण गाउँपालिका ३ काँडेस्थित पोखरा–बाग्लुङ सडक छेउमा टिनको छाप्रोमा बसेर टिमुरको चट्नी बनाउछन् अमृत । उनी बिहानैदेखि टिमुर, नुन र खुर्सानी ओखलमा कुट्छन् । कुटेर धुला पारेपछि टिमुरको चट्नी बन्छ । उनले बनाएको त्यो चट्नी पोखरा आसपासका बजारमा मात्र नभएर विदेशसम्म पुग्छ ।
अमृत टिमुर कुट्छन् उनकी श्रीमती खरकुमारीले प्याकिङ गर्छिन् । ‘आँखा नदेख्ने भएर के भयो र ? उद्यममा सक्रिय बनेको छु,’ अमृत विकले भने, ‘दृष्टि नहुँदैमा काम गर्न नसकिने होइन, हरेश नखाई संघर्ष गर्नुपर्छ ।’
अमृतले पोखराबाट कच्चा पदार्थ खरिद गरे लैजान्छन् । समान लिनका लागि उनको परिवारले सघाएको छ । अमृतले दिनमा औसतमा ८ पोका (२ सय ग्राम) बनाउँछन् । एक पोकाको २ सय पर्छ । ‘दिनमा ३० पोका सम्म बनाएको छु,’ उनले भने, ‘बजारको समस्या छैन, घरबाटै बिक्रि हुन्छ ।’ चटनी नेपालीले कोसेलीका रुपमा हङकङ, अष्ट्रेलिया, बेलायत र सिंगापुर, जापान लगायतका देशमा लैजाने गरेको विहिबारको कान्तिपुर दैनिकमा समाचार छ ।
पहिले छिमेकीकोमा मागेर टिमुरको धुलो कुट्ने गरेका अमृतको यस्तो मेहनत र संघर्ष देखेर प्रभावित भएको स्थानीय आमा समूहले उनका लागि ठूलो ओखल सहयोग गरेको छ ।
‘सधैं अरुको भाँडामा कति साध्य होला र ? भनेर अलि ठूलै ओखल दिएका हौं ।’ काँडे बराह महिला समूहकी पूर्वसचिव निमा गुरुङले भनिन् ।
अमृतको मेहनत र संघर्षका कारण उनीप्रति समाजको हेराई बललिएको पनि उनले बताइन् ।
वि.सं.२०७६ जेठ २३ बिहीवार ११:५३ मा प्रकाशित




























