२७ असार, काठमाण्डौं । यति एयरलाईन्सको जहाज दुर्घटना हुँदा त्रिभुवन विमानस्थलको उडान ठप्प भएको छ । नेपालगन्जबाट आएको यति एयरलाईन्सको एटिआएर जहाज विमानस्थलमा अवरतण गर्ने क्रममा धावनमार्गमा चिप्लिएपछि विमानस्थल ठप्प जस्तै बनेको हो ।
यति एयरलाईन्सको फ्लाइट नं एनवाइटी–४२२ एटिआर ७२–५०० जहाजमा चालक दलका सदस्यसहित ६६ यात्रु रहेका थिए भने जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ ।
यति एयरलाईन्स कम्पनीका अनुसार जहाजका सबै यात्रु सकुशल रहेको बताइएको छ भने दुईजना घाईते भएको र उनीहरुलाई उपचारका लागि लगिएको बताइएको छ ।
बिहान झढडै ११ बजे अवतरण गर्ने क्रममा धावन मार्गमा जहाज चिप्लिदा दुर्घटना भएपछि विमानस्थलमा आन्तरिक तथा बाह्रय उडान ठप्प भएको छ ।
दुबईबाट आएको नेपाल एयरलाईन्सको जहाज, थाइल्याण्डबाट आएको थाई एयर, दिल्लीबाट आएको रोयल भुटानलगायतका जहाजलाई अन्यत्रै डाइभर्ट गराइएको छ भने ढाकाबाट आएको विमान बंगलादेश आकासमै होल्ड गरिएको बताइएको छ । दुर्घटनाका कारण झण्डै दर्जन उडान प्रभावित भएका छन् ।
यसै विषयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीले विमानस्थल सञ्चालन हुन केही समय लाग्ने संसारन्युजलाई बताएका छन् । ‘तयारी भइरहेको छ अब केही समयमै सञ्चालन हुन्छ ।’ उनले भने । तिवारीले के कति कारणले जहाज दुर्घटना भयो भन्ने कुरा केही समयपछि बाहिर आउने बताए ।
वि.सं.२०७६ असार २७ शुक्रवार १३:१९ मा प्रकाशित






























