१५ साउन, काठमाण्डौं । पक्राउ परेका आफ्ना नेता माईला लामाको रिहाईको माग गर्दै विप्लव नेतृत्वको समूहले बुधबार बाग्मती, नारायणी अन्चल तथा रामेछाप र दोलखा दुई जिल्लामा गरेको बन्दले जनजीवन प्रभावित बनेको छ ।
सो समूहले बन्दको पूर्वसन्ध्यामा मंगलबार राति मकवानपुरमा दुईवटा गाडी माथि आगजनी गरेका छन् । मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् । कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताएका छन् ।
यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।
त्यस्तै नुवाकोटका वडा कार्यालयमा पनि मंगलबार राति बम विस्फोट गराईएको छ । विस्फोटबाट वडामा रहेका महत्वपूर्ण कागजात जलेको बताइएको छ । वम विस्फोटमा विप्लप समूहको संलग्नता रहेको अनुमान गरिए पनि अनुसन्धान जारी रहेको बताइएको छ ।
फाईल फोटो
वि.सं.२०७६ साउन १५ बुधवार ०८:२९ मा प्रकाशित



























