
गैरआवासीय नेपाली संघ(NRNA)ले को १२ औँ युरोपेली बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । “एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य” (Tourism and Investment Promotion in Nepal Goals of NRNA in Europe) भन्ने नाराका साथ यहि अगष्ट ३ र ४ तारिखमा (२०१९) मा इटालीको रोममा हुने उक्त बैठकको सम्पूर्ण तयारी सकिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता भुषण घिमिरेले जानकारी दिएका छन् ।
लगानी र पर्यटन प्रवद्र्धन यस पटकको बैठकको मुख्य केन्द्रविन्दुमा रहने बताइएको छ । नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल निर्माणमा आ–आफ्नो स्थानबाट योगदान गर्न प्रोत्साहन गरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको छ भन्ने सन्देश प्रवाह गर्नुका साथै नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार यस बैठकको प्रमुख उद्देश्य भएको जनाइको छ ।
प्रवक्ता घिमिरेका अनुसार बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत बैठक केन्द्रित रहनेछ । यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिने छ ।
बैठकको पूर्व सन्ध्यामा अर्थात २, अगष्ट (२०१९) मा इटालीका एक सय भन्दा बढी व्यापार एवं पर्यटन व्यवसायी, स्थानीय नगरपालिकाका मेयर नेपाल सरकारका प्रतिनिधि, गैरआवासीय नेपाली संघ लगायतको उपस्थितीमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने प्रवक्ता घिमिरेले जानकारी दिएका छन् ।
इटालीको रोममै संघको १० औं महिला भेलासमेत आयोजना गरिँदै छ । जुसमा युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता जनाउने बताइएको छ ।
बैठकमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० कार्यान्यवन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य, नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूताबासका राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरु सहभागी हुनेछन् । यसका साथै यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय जना प्रतिनिधी सहभागीता रहने बताइएको छ ।
बैठकले तय गर्ने निर्णयहरुले समग्र संस्थालाई संस्थागत गर्न मात्रै नभई मुलुककै समृद्धिमा समेत योगदान दिन सफल हुने अपेक्षा संघले राखेको छ । नेपालमा लगानी, पर्यटन, ज्ञान सीप र दक्षता भित्र्याउने सन्दर्भका विविध विषयमा हामी सबै मिलेर घनीभूत रुपमा छलफल हुने उक्त बैठकमा सहभागी भई आफ्ना महत्वपूर्ण विचार र धारणा आदानप्रदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली समुदाय, सम्बद्ध व्यक्ति सबैमा संघले अनुरोध गरेको छ ।
गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै नेपालमा लगानी भित्र्याउने र आफूले सिकेको ज्ञान सीप र क्षमताको सदुपयोगले मुलुकको समृद्धिमा हातेमालो गर्ने उद्देश्य लिएर अघि बढीरहेको छ । “सबै हात एकै साथ” भन्ने भावनाका साथमा विश्वका ८० राष्ट्रमा फैलिएको नेपाली डायस्पोराले मुलुकको समृद्धिको कामना गर्दै आ–आफ्नो स्थानबाट यथाशक्य सहयोग र सहकार्य गर्न समेत तत्परता देखाइरहेका छन् । नेपाल सरकारले लगानीका लागि निर्माण गरेको अनुकुल वातावरण र पर्यटन प्रवद्र्धनका लागि नेपाली समुदाय समेतलाई सुम्पिएको जिम्मेवारीलाई यस संघले गहन रुपमा लिएको बताइएको छ ।