back
CTIZAN AD

वरिष्ठ नेता माधब नेपालले केपी ओलीलाई भने-‘अध्यक्ष वा प्रधानमन्त्रीमा एक छान्नुहोस्’

वि.सं.२०७६ भदौ ३ मंगलवार

849 

shares

३ भाद्र, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधब कुमार नेपालले अध्यक्ष केपी ओलीले अध्यक्ष र प्रधानमन्त्री पदमा एक पद छाड्नुपर्ने बताएका छन् ।

वरीयताका क्रममा पार्टीमा चौथो नम्बरमा परेपछि नेता नेपालले नोट अफ डिसेन्ट लेख्ने कुरा आइरहेका बेला मंगलबार उनले ७ बुँदे नोट अफ डिसेन्ट लेखेर अध्यक्ष वलीलाई प्रधाानमन्त्री या अध्यक्ष एक पद छाड्न आग्रह सहित लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका हुन् ।

नेता नेपालले उक्त नोट अफ डिसेन्टमा ‘एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको बैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै ब्यक्तिमा लागू गर्न आग्रह समेत गरेका छन् ।

वरिष्ठ नेता नेपाले पार्टी एकताका क्रममा अध्यक्ष वलीले वरिष्ठ नेता आफूलाई बनाउने र झलनाथ खनाललाई अनेक आरोप लगाएर वरिष्ठ नेता नराख्ने प्रस्ताव आएको भन्दै उनले पार्टी एकताको सन्देश दिने बेला यस्तो गर्नु उपर्युक्त होइन भनेको तथा बामदेव गौतमले आफ्नो रायमा सहि थपेको समेत बताएका छन् । ‘अहिले आएर फेरी वरिष्ठ नेताको वरियता परिवर्तन गर्ने प्रस्ताव मेरो मानमर्दन गर्ने उद्धेश्यका साथ नियोजित रुपमा प्रस्तुत गरियो ।’ नेपा नेपालले बुँदा नं ५ मा यस्तो असन्तुष्टि व्यक्त गरेका छन् ।

त्यस्तै बुदा नं ६ मा, भाद्र १ गते बसेको पार्टीको सचिवालय बैठकमा आफूले युवा विद्यार्थी, महिला, मजदुर जस्ता संगठनमा सिनियर नेतालाई ईन्चार्ज र जुनियरलाई सहईन्चार्ज राख्न जोड दिएको बताउँदै भनेका छन्, ‘तर कतिपय संगठनमा पूर्वाग्रही भएर बरियतामा अगाडि रहेका नेतालाई पन्छाएर कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिइएकोमा मेरो गंभीर असहमति रहेको छ ।’

यी हुन् नेता नेपालका ७ बुँदे असन्तुष्टि

१. कम्युनिष्ट पार्टी यसको विधान अनुरुप विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएकोले मैले बारम्बार यस बिषयलाई उठाएको छु र यसमा पुन ः जोड दिन चाहन्छु । नियमित रुपमा पार्टीका बैठक हुने, बैठक बस्नु अघि सूचना दिने, कार्यसूचि पेश गर्ने, सोंच्ने, अध्ययन गर्ने र छलफल गर्ने पार्टीको स्थापित प्रणाली हो । जिम्मेवारी र अवसरको वितरण निश्चित मापदण्ड र पारदर्शी किसिमले गरिनु पर्छ । तर अहिले पार्टीमा ती सबै केही भएको छैन । विधानले तोके अनुसार कुनैपनि कमिटीका बैठक बसेका छैनन् । औपचारिकताका लागि हतार–हतार गरी बसेका केही बैठकहरुमा पनि गंभीरतापूर्वक छलफल गरेर निष्कर्ष निकाल्ने काम भएको छैन । भएका कतिपय निर्णयलाई कार्यान्वयन गरिएको छैन । यसमा मेरो गंभीर आपत्ति छ ।

२. साबिक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को यति ठूलो ऐतिहासिक एकता प्रक्रियालाई गुटगत स्वार्थका कारण अनावश्यक रुपमा लम्ब्याएर एकताबाट पार्टी पंक्तिमा उत्पन्न भएको उत्साहलाई निरुत्साहमा बदल्ने काम भएको छ । स्पष्ट र पारदर्शी मापदण्ड बनाएर निर्णय गरी सोही निर्णयका आधारमा एकैपटक सम्पूर्ण एकता प्रक्रिया टुंग्याउन सकिनेमा अमुक व्यक्ति छनौटको गलत चाहना राखेर एकता प्रक्रिया नै पार्टीलाई क्षति पुग्ने गरी लम्ब्याइएको छ । बिधानमा ब्यवस्था भए अनुरुप पोलिटब्युरो गठन गर्नुपर्दछ भनेर मैले बारम्बार जोड दिएँ तर उक्त विषयलाई विभिन्न बहानामा टार्दै आइएको छ । मेरो प्रश्न छ विधानको ब्यवस्थालाई लागु गर्ने की नगर्ने ? मैले आरम्भदेखि नै यस्तो धारणा राख्दै आएको छु र पुन ः यो कुरा दोहोर्याउँछु ।

३. पार्टी नेता र कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा मैले पार्टी विधानको धारा ४६ (क) बमोजिम स्थानीय तहदेखि संघीय सरकार सम्मका कार्यकारी जिम्मेवारी बहन गरेका कमरेडहरुलाई दोहोरो मुख्य जिम्मेवारी हुने गरी पार्टीको कार्यकारी जिम्मा नदिउँ र यस्तो जिम्मेवारीमा नभएका कमरेडहरुलाई निश्चित मापदण्डका आधारमा पार्टीको कार्यकारी जिम्मा दिउँ भन्ने प्रस्ताव निरन्तर राखिरहे । तर पार्टी अध्यक्षले कुनै मापदण्ड विना आफू खुुसी निकटकालाई मात्र जिम्मा दिने कोशिष जारी राख्नुभयो । लामो समय ब्यतित भैसकेपछि सरकारका कार्यकारी जिम्मेवारीमा रहेकै भएपनि एकीकरण पूर्वका पदाधिकारीलाई नै हाललाई जिम्मा दिने सहमती गरियो । अहिले पनि म मेरो पूर्ववत मान्यतामा दृढ छु । हाम्रो जस्तो विशाल पार्टीको ब्यवस्थापन र समान्य दुबै दृष्टिकोणले मेरो प्रस्ताव उपर्युक्त छ भन्ने मलाई लाग्छ । यही कुरा इन्चार्ज, सहइन्चार्ज, जनसंगठनका पदाधिकारीको हकमा पनि लागु हुनुपर्छ भन्ने मेरो मान्यता पुन ः दोहोर्याउँछु । वरिष्ठता एवम् योग्यतालाई वेबास्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई जिम्मेवारी माथि जिम्मेवारीको खातैखात कसैलाई जिम्मेवारी विहीन बनाएर अपमानित गर्ने कुरालाई न्यायोचित मान्न सकिन्न । अत ः एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको बैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वय देखि सबै ब्यक्तिमा लागु गरियोस् ।

४. प्रदेश पदाधिकारीहरु चयन गर्दा तथा कमिटीहरु गठन गर्दा पार्टीको निर्णय विपरित अत्यन्तै ब्यस्त रहनुुपर्ने मुख्यमन्त्री, मन्त्री, मेयर जस्ता राज्यको पदमा रहेकाहरुलाई जिम्मेवारी दिनुका साथै पहिले प्रदेश कमिटीमा रहेका तथा सिनियरहरुलाई पन्छाउदै स्वेच्छाचारी रुपमा जुनियरहरुलाई प्रदेश सदस्य बनाइएकोमा यस्ता निर्णयहरुलाई छानविन गरी सच्याईयोस् र त्यस्तो निर्णय गर्ने उपर कारवाही गरियोस् । त्यसैगरी जिल्ला तथा मातहत कमिटीहरु गठन गर्दा पनि पार्टीको ९ बैशाख, २०७६ को निर्देशन विपरित साविक कमिटीमा रहेका सिनियरहरुलाई नियतबस छुटाई नयाँ तथा जुनियरहरु समावेश गरिएको छ । त्यसमा पनि कतिपय स्थानमा पार्टी सदस्य नै नभएका, नवप्रवेशी तर पार्टी सदस्यताको सपथग्रहण नै नगरेका तथा माक्र्सवादको सामान्य ज्ञान समेत नभएका एवम् पार्टीप्रतिको निष्ठाको परीक्षणबाट नगुज्रेकालाई कमिटीमा राख्ने काम भएको छ । यस्ता जिल्लाहरुका सन्दर्भमा केन्द्रबाटै निश्पक्ष छानविन कमिटी गठन गरी यस्ता निर्णयहरु सच्याउनुका साथै निर्णय गर्नेहरु उपर कारवाही गरियोस् । यस्ता जिल्लाहरुमध्ये सपथ ग्रहण बाँकी रहेका जिल्लाहरुको हकमा तत्काल छानबिन गरी निर्णय सच्याएर मात्र सपथ ग्रहण गर्ने निर्देशन जारी गरियोस् । त्यस्तो हुन सकेन भने पार्टीमा विधि एवम् न्याय मर्नेछ, स्वेच्छाचारिता एवम् अराजकता बढ्नेछ जसले पार्टीलाई कमजोर बनाउने छ ।

५. पार्टी एकता हुँदा पार्टी अध्यक्षद्वारा मलाई वरिष्ठ नेताको रुपमा राख्ने तर कमरेड झलनाथ खनाललाई अनेक आरोप लगाएर वरिष्ठ नेता नराख्ने प्रस्ताव आयो । मैले एकताको सन्देश दिने बेला त्यसो गर्नु अनुपयुक्त हुने राय राखेँ । कमरेड बामदेव गौतमले मेरो रायमा सही थाप्नुभयो । त्यसपछि अध्यक्षले पहिलो बरियता त हुँदैहुन्न राख्नैपर्ने भए दोस्रोमा राखौं भनेपछि त्यही अनुसार भयो । अहिले आएर फेरी वरिष्ठ नेताको वरियता परिवर्तन गर्ने प्रस्ताव मेरो मानमर्दन गर्ने उद्धेश्यका साथ नियोजित रुपमा प्रस्तुत गरियो । विधि र पद्धतिमा जोड दिने व्यक्तिको हैसियतले मैले तत्कालिन नेकपा (एमाले) को नवौं महाधिवेशनपछिको वरियतालाई आधार मान्दै उक्त परिवर्तनलाई स्वीकार गरें । यसले मेरो, देश, जनता र पार्टी प्रतिको निष्ठा एवम् सक्रियतामा कुनै फरक पार्ने छैन तर पार्टीभत्र यसरी पुरानो बरियताका आधारमा अहिलेको बरियता निर्धारण गर्ने हो भने हाल सचिवालयमा रहेका तात्कालिन एमालेका महासचिव र एकजना उपमहासचिव भन्दा माथिल्लो बरियताका तीन जना उपाध्यक्षहरुलाई सचिवालयमा राखिएको छैन । त्यसैले सचिवालयका बैठकहरुमा मैले तत्कालिन तीन जना उपाध्यक्षहरु र एक जना उपमहासचिव समेतलाई सचिवालय सदस्य बनाउन माग गर्दै आएको छु । वरियताको बिषय वरिष्ठ नेताको लागि मात्र होइन सबैका हकमा लागु हुनुपर्दछ । दोहोरो मापदण्ड अपनाउनु न्यायसंगत हुँदेन ।


६. यही भाद्र १ गते बसेको सचिवालय बैठकमा मैले युवा, विद्यार्थी, महिला, मजदुर जस्ता संगठनहरुमा सिनियर नेतालाई इन्चार्ज र जुनियरलाई सहइन्चार्ज एवम् पदाधिकारी बनाउनका निम्ति जोड गरेको थिएँ । तर कतिपय संगठनमा पूर्वाग्रही भएर बरियतामा अगाडि रहेका नेतालाई पन्छाएर कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिइएकोमा मेरो गंभीर असहमती रहेको छ । यस प्रकारका निर्णयलाई सच्याउन जोडदार माग गर्दछु ।


७. स्थायित्व, शान्ति र विकासको अपेक्षा सहित हाम्रो पार्टीलाई जनताले दिएको मत र समर्थनका आधारमा पार्टी अध्यक्षको नेतृत्वमा गठीत झण्डै दुई तिहाई बहुमतको सरकारले पार्टीको नीति, निर्णय र योजनामा काम गरिरहेको छैन । त्यति मात्र होइन जनअपेक्षा अनुरुप काम गर्न नसक्दा सरकार र पार्टीप्रति समेत जनतामा नकारात्मक धारणा बढ्दै गएको छ । पार्टी नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुले समेत कतिपय सार्वजनिक मञ्चहरुमा उठेका प्रश्नहरुको डटेर सामना गर्न नसक्ने स्थिति उत्पन्न भएको छ । यो दुःखद अवस्था हो । स्थायी कमिटीको विगत बैठकमा सरकारका कामको समीक्षाका निम्ति अलग्गै बैठक बस्ने निर्णय भएकोमा त्यसलाई उपेक्षा गर्दै आजसम्म न त कुनै बैठक बसेर छलफल गरिएको छ न त कार्यशैलीमा नै सुधार गरिएको छ । सरकारले पार्टीको नीति, निर्णय र योजनामा चल्नुका साथै राष्ट्र र जनताको हीतमा समर्पित भएर काम गर्नुपर्दछ । त्यसो नगरिए सरकारसँगै पार्टीलाई समेत गंभीर धक्का लाग्नेछ ।
उपर्युक्त बिषयहरुमा गंभीरतापूर्वक ध्यान दिइयोस्, कमी कमजोरीहरुलाई सच्याइयोस् र पार्टीप्रति जनता तथा कार्यकर्ताहरुको विश्वास एवं भरोसालाई कमजोर तुल्याउने कुनैपनि प्रकारका कार्य नगरियोस् भन्ने माग गर्दछु ।

वि.सं.२०७६ भदौ ३ मंगलवार १८:२६ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...