२९ भदौ, काठमाण्डौ । १८ क्यारेट सुनले बनेको सुनको ट्वाइलेट चोरी भएको छ ।
इङल्याण्डको अक्सफोर्ड ब्लेनहेक प्यालेसमा रहेको उक्त सुनको ट्वाइलेट शनिबार राति हराएको हो ।
इटालीका मौरिजियो केटेलन नामका कलाकारले बनाएको यो सुनको ट्वाइलेटलाई विहिबार मात्रै सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको थियो ।
शनिबार राति हराएको यो सुनको ट्वाइलेट अहिले सम्म नभेटिएको विदेशी संचारमाध्यमले जनाएका छन् । तर, सुनको ट्वाइलेट चोरीको आशंकामा प्रहरीले एक ६६ वर्षीय व्यक्तिलाई पक्राउ गरेको बताइएको छ ।
पाँच मिलियन अमेरिकी डलर भन्दा बढी मूल्यको उक्त सुनको ट्वाइलेट १८ शताब्दिको भव्य घरमा प्रदर्शनका लागि राखिएको थियो । ‘अमेरिका’ नाम दिएको उक्त सुनको ट्वाइलेटलाई एकपटक न्युयोर्कको गुगेनहाइम संग्रहालयमा समेत प्रदर्शनमा राखिएको थियो ।
वि.सं.२०७६ भदौ २९ आइतवार ११:३६ मा प्रकाशित

























