back
CTIZAN AD

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वि.सं.२०८३ साउन २५ सोमवार

shares

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली धर्मशाला, पुरानो पोखरी र परिसरको कलात्मक पर्खाल पुनःनिर्माण तथा पुनरुत्थानको काम सुरु भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले विधिपूर्वक पूजाआजा गरी निर्माण कार्यको शिलान्यास गरेका हुन्।

शिलान्यासपछि कार्यवाहक प्रमुख डंगोलले पशुपति क्षेत्रमा आउने श्रद्धालुलाई त्यहीँ बसोबास गरेर सहज रूपमा दर्शन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले परियोजना अघि बढाइएको बताइन्। उनका अनुसार निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

“वडाले नेतृत्व लिएको छ। पशुपति क्षेत्र विकास कोषसँग समन्वय भइरहेको छ। सबैको सक्रियतामा योजना समयमै सम्पन्न हुनेछ,” डंगोलले भनिन्।

 पुरिएको ऐतिहासिक पोखरीलाई समेत पुनरुत्थान गरिने

वनकाली धर्मशालाको पुनरुत्थान दुई चरणमा अघि बढाइएको छ। पहिलो चरणमा धर्मशालाको छाना मर्मत, छानामा फल्याक राख्ने, वाटरप्रुफिङ गर्ने तथा छाना नभएका स्थानमा नयाँ छाना राख्ने काम भइरहेको छ। छाना मर्मतका लागि सार्वजनिक खरिद प्रक्रियामार्फत १ करोड ३२ लाख ५४ हजार ६१३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।

वडा नं. ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार धर्मशालालाई पुरानै मौलिक पहिचान झल्कने गरी पुनःस्थापना गरिनेछ। साथै, २०४५ देखि २०५० सालको आसपास पुरिएको ऐतिहासिक पोखरीलाई समेत पुनरुत्थान गरिने  छ ।

करिब एक रोपनी क्षेत्रमा फैलिएको ३६ कोठे धर्मशाला भवन लामो समयदेखि जीर्ण अवस्थामा थियो। भवनका झ्याल–ढोका मक्किएका, थामहरू कमजोर भएका, छाना चुहिने तथा कतिपय स्थानमा छाना नै नभएका कारण त्यहाँ बस्न सक्ने अवस्था थिएन।

पुनर्निर्माणपछि भवनलाई मौलिक स्वरूपमै संरक्षण गर्दै श्रद्धालुका लागि आवश्यक आधुनिक सुविधा थपिनेछ। प्रत्येक तलामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय तथा स्नान कक्ष निर्माण गरिनेछ। परियोजना सम्पन्न भएपछि धर्मशालामा २४ वटा शौचालय र २० वटा स्नान कक्ष हुनेछन्।

धर्मशालामा सरसफाइ तथा स्वच्छताको व्यवस्था मिलाउनुका साथै खानेपानीका लागि पाइपलाइन र विद्युत् जडानसमेत गरिनेछ।

आकर्षक पार्क निर्माण गरिने

धर्मशालाअगाडि श्रद्धालु तथा आगन्तुकका लागि आकर्षक पार्क निर्माण गरिनेछ। पार्कको डिजाइन गर्दा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहको आवश्यकतालाई ध्यानमा राखिएको छ। ज्येष्ठ नागरिकका लागि सामान्य व्यायाम तथा योग गर्ने स्थान, आराम गर्न फलैँचा र कुर्सी राखिनेछ। युवाका लागि व्यायामका सामग्री तथा ब्याडमिन्टन कोर्ट निर्माण गरिनेछ।

त्यस्तै, बालबालिकाका लागि ट्रामपोलिन, मङ्की बार, चिप्लेटीलगायत खेल सामग्रीको व्यवस्था हुनेछ। समूहगत रूपमा बस्न मिल्ने बेञ्च, खुला स्थानमा कुर्सी, पानीका फोहोरा तथा साना–ठूला चौतारा पनि निर्माण गरिनेछन्। परिसरमा वर्षाको पानी जम्ने समस्या कम गर्न पानी भुइँमा सोसिने किसिमको संरचना निर्माण गरिनेछ।

ऐतिहासिक पोखरीसहित हरियाली क्षेत्र

सहरी योजना आयोगले तयार पारेको गुरुयोजनाअनुसार पशुपति क्षेत्र विकास कोषअन्तर्गतको करिब १२ रोपनी ६ आना क्षेत्रफलमा परियोजना सञ्चालन हुनेछ। करसहित परियोजनाको कुल लागत ३ करोड ६५ लाख १३ हजार ४३२ रुपैयाँ रहेको छ।

आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईका अनुसार निर्माण पक्षसँग असार १७ गते सम्झौता भएको हो। निर्माण अवधि २०८४ असार १० गतेसम्म तोकिएको छ।

आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार करिब ६ हजार ३८१ वर्गमिटर क्षेत्रफलको सरसफाइपछि निर्माण कार्य अघि बढाइनेछ। पोखरी तथा बगैँचा निर्माणका लागि करिब ३ हजार २३० घनमिटर माटो, बालुवा तथा पोखरी निर्माणमा प्रयोग हुने माटो आवश्यक पर्नेछ।

बगैँचामा चार फिट उचाइका १५० वटा र आठ फिट उचाइका ३० वटा बिरुवा रोपिनेछन्। त्यस्तै, ६ सय वटा मौसमी फूल तथा २५० वटा पोली हेजसहित हरियाली क्षेत्र निर्माण गरिनेछ।

परिसरमा करिब ३५० मिटर लामो सिमाना पर्खाल निर्माण गरिनेछ। पर्खालको करिब १ हजार ३५४ वर्गमिटर क्षेत्रमा दछी आपा राखिनेछ। पर्खालमा कासिमो बुट्टा र पालेफो बुट्टा प्रयोग गरिने भएकाले यसले धार्मिक तथा सांस्कृतिक सम्पदाको मौलिक सौन्दर्य थप बढाउने अपेक्षा गरिएको छ।

परम्परागत वास्तुकला र आधुनिक सुविधाको संयोजन गर्ने उद्देश्यले भुइँको २२७ दशमलव ७९ वर्गमिटर क्षेत्रमा परम्परागत तेलिया टायल राखिनेछ। भुइँ र पर्खाल गरी कुल ३९७ दशमलव ९९ वर्गमिटर क्षेत्रमा टायल प्रयोग गरिनेछ।

समग्रमा वनकाली धर्मशालाको पुनर्निर्माणसँगै ऐतिहासिक पोखरी, हरियाली पार्क र कलात्मक पर्खाल निर्माण भएपछि पशुपति क्षेत्रमा आउने श्रद्धालुका लागि आवास, विश्राम र मनोरञ्जनको सुविधा थपिनेछ। साथै, लोप हुँदै गएको वनकाली क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई पुनःस्थापित गर्न परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

वि.सं.२०८३ साउन २५ सोमवार ०७:५१ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...