१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साझा बस चढेर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जानु भएको छ ।
साझा यातायातले सुरु गरेका नयाँ बसको उद्घाटनपछि प्रधानमन्त्री दाहाल बा४ख ५६५५ नंको साझाको बस चढेर सिंहदरबारस्थित आफ्नो कार्यालय पुग्नु भएको हो ।
प्रधानमन्त्रीको साथमा साथमा भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री रमेश लेखक, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी लगायत विशिष्ट व्यक्ति हुनुहुन्थ्यो ।
उद्घाटन कार्यक्रमा प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभित्र यातायात व्यवस्थाको अराजकतालाई ध्यानमा राख्दै सुधारका नीति र योजनालाई कार्यान्वयनमा ल्याउन तथा ट्राफिक व्यवस्थापनमा लागिपरेको सन्दर्भमा साझाको काम सराहनीय रहेको बताउनुभयो ।
त्यस्तै काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँको यातायात व्यवस्थापन गर्न कामपाले साझासँग सहकार्य गरी नयाँ बस सेवा सुरु गरेको बताउनुभयो । उहाँले अबको लक्ष्य काठमाडौँ बाहिरका मुख्य सरहमा सेवा पु¥याउने र त्यसका लागि रु पाँच करोड बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । कामपाले यसअघि ३० बसमा रु १० करोड सेयर लगानी गरेको थियो । स्मार्ट कार्ड मार्फत यात्रुले सहजै शुल्क तिर्ने व्यवस्था गरिने साझाले जनाएको छ ।
सहरी मापदण्डका अत्याधुनिक सुविधासहित आजबाट साझाका बस सञ्चालनमा आएको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताउनुभयो ।
आधुनिक सुविधासम्पन्न साझाको बस अपाङ्गमैत्री छ । त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा छ । बसभित्र दुई ह्विलचेयर अट्ने ठाउँ छ । नयाँ बसमा चार सिसिटिभी छन् । मनोरञ्जनका लागि एलइडी टिभी र मोबाइल चार्जरको व्यवस्था छ ।
वि.सं.२०७३ मंसिर १२ आइतवार ०८:११ मा प्रकाशित