१८ कात्तिक, काठमाण्डौं । संसद सचिवालमा कार्यरत कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप खेपिरहेका निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई काठमाण्डौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
शुक्रबार र आइतबार भएको थुनछेकको बहस टुंगो नलागेपछि ‘हेर्दाहेदैमा’ राखिएको उक्त मुद्दा, आज सोमबारको बहसपछि अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
सरकारी वकिलको कार्यालयले महरा पक्राउ परेको २५ दिनपछि विहिबार जिल्ला अदालत काठमाण्डौंमा जर्वजस्ती करणीको अभियोगमा मुद्दा दर्ता गराएको थियो । शुक्रबारबाटै थुनछेकको बहस सुरु गरिने भनिए पनि समयअभाव देखाउँदै आइतबारबाट मात्रै थुनछेकको बहस सुरु गरिएको थियो ।
सोमबार महराका तर्फबाट वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ, नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष शेर बहादुर केसी, कृष्ण प्रसाद सापकोटा, लवकुमार मैनाली र सविता भण्डारीले बहस गरेका थिए ।
उनीहरुले यौन दुव्र्यवहारको मुद्दा सरकारवादी नभएको र व्यक्तिवादी भएकोले सरकारी वकिलले मुद्दा चलाउन नपाउने भन्दै बहस गरेका थिए ।
मुलुकी अपराध संहिताको दफल २१९ (३) अनुसार १८ वर्षभन्दा माथिका महिलासँगको करणीमा कममा सातादेखि बढीमा १० वर्षसम्म जेल सजायको व्यवस्था रहेको छ ।
आजको बहसमा महराद्धारा पीडित भनिएकी कर्मचारी रोशनी शाहि पनि उपस्थित भएकी थिइन् । शाही र महराद्धयले एकअर्कामा हेराहेर गरे पनि केही कुरा नभएको पनि बताइएको छ । निर्वतमान सभामुख महरा आजको थुनछेक बहसपछि धरौटीमा रिहा हुने आंकलन गरिए पनि अन्तत अर्को निर्णय नभएसम्म उनलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।
संसद सचिवालयकी कर्मचारी रोशनी साहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा तत्कालिन सभामुख महरा असोज १९ गते पक्राउ परेका थिए ।
वि.सं.२०७६ कात्तिक १८ सोमवार १७:४० मा प्रकाशित






























