back
CTIZAN AD

आज हरिबोधिनी एकादशी, यस्तो छ हरिबोधिनी एकादशीको महत्व

वि.सं.२०७६ कात्तिक २२ शुक्रवार

5.8K 

shares

२२ कार्तिक , काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हुन त वर्षमा २४ वटा एकादशी हुन्छन्, अझ मलमास परेको वर्षमा त २६ वटा एकादशी पनि हुन्छन्। तर ती सबै एकादशीका तुलनामा यी दुईवटा एकादशीलाई विशेष महत्त्वका साथ शास्त्रीय विधिविधान पालना गरी व्रतसम्पादन गर्ने परम्परा रही आएको छ । यसरी यी दुई एकादशीको विशेष महत्त्व देखिनुमा विष्णुको दैनन्दिनीको भूमिका देखिन्छ ।

सनातन धर्मभित्र यस चराचर जगतको संरक्षण र पालना गर्ने जगन्नियन्ता परब्रह्म परमेश्वरका रूपमा विष्णुको आराधना हुने परम्परा पाइन्छ । अनि हामी पृथ्वीमा बसोबास गर्ने मनुष्यहरूको एकवर्षको अवधि देवताहरूको केवल एकदिनको अवधि मान्ने चलन समेत छ ।

सामान्यतया सूर्य दक्षिणायनतर्फ ढल्कनासाथ देवताहरूको रात्रीकाल हुने चर्चा विभिन्न धार्मिक ग्रन्थमा प्राप्त हुन्छ। यिनै पौराणिक मान्यता र आख्यानका आधारमा आषाढ महिनामा पर्ने ठूली एकादशीका दिन विष्णु क्षीरसागरमा पुगेर शयन गर्ने र कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीका दिन निद्रा त्यागी ब्युँझने कथाप्रसङ्ग बेग्लाबेग्लै धार्मिक ग्रन्थहरूमा उल्लेख भएकाले पनि यी एकादशीको महत्त्व चुलिएको सकिन्छ ।

हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा तुलसीको मठ बनाएर सम्मानका साथमा संरक्षण र सम्बद्र्धन गरिने वनस्पति हो, तुलसी । यी दुईवटा एकादशीमा तुलसी पनि गाँसिएको पाइन्छ ।

तुलसीको विरुवामा एक प्रकारको तेल हुन्छ, जुन तेल वातावरणमा रहेको वायुमण्डलमा सजिलै सम्मिश्रण हुन्छ । जसबाट घरको वातावरणलाई प्रदूषण हुनबाट जोगाउँछ । जहाँ र जुन घरमा तुलसीको वास र पूजा हुन्छ, त्यहाँ ऋद्धिसिद्धिको बास हुन्छ भन्ने मान्यता पनि छ ।

यसरी धार्मिक र वैज्ञानिक आधारमा तुलसीको छुट्टै महत्व छ । असारको ठूली एकादशीमा प्रत्येक हिन्दुधर्मावलम्बीले आआफ्ना घरमा रहेको मठमा तुलसीको बिरुवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको विधिवत विवाह सम्पन्न गरिदिने चलन पनि छ ।

स्कन्दपुराणमा वर्णित कथाका अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उसको अमरत्वको आधार थिया े। सृष्टिको कल्याण गर्ने उद्देश्यले विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो । त्यसपछि मात्र जालन्धरको बध गर्न सम्भव भएको थियो । विष्णुले रूप बदलेर आफ्ना पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले विष्णुलाई श्राप दिईन्।

त्यसपछि विष्णु पत्थरमा परिणत भई शालीग्रामका रूपमा अवतीर्ण भए । यसरी वृन्दाले दिएको श्रापबाट मुक्त हुन विष्णुले शालीग्राम स्वरुपमा रहेर तुलसीसँग विवाह गर्नु परेको थियो । जुन दम्पतीको छोरी छैन, उनीहरूले जीवनमा एकपल्ट आषाढको एकादशीमा आफ्नो घरआँगनको तुलसीको मठ बनाई तुलसी रोपी, चार महिनासम्म नित्य पूजाअर्चना गरी कार्तिक महिनाको ठूली एकादशीमा विधिवत् विवाह गरिदिएमा कन्यादानको पुण्यप्राप्त हुन्छ र सुपुत्री लाभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

यी दुबै एकादशीमा नेपालका विभिन्न तीर्थस्थल, देवालय र मठमन्दिरमा मेला लाग्ने गर्दछ । त्यस्तै सानाठूला नदीनाला तालपोखरी र सरोबरमा स्नान गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्दछ । आषाढमा पर्ने एकादशीका दिनबाट सुरु गरी चार महिनासम्म चोखोनीतो भई, एक छाकमात्र खाई, चतुर्मासा व्रत बस्ने चलन पनि छ । चतुर्मासाको अवधिभरि ठाउँठाउँमा व्रतकथा महात्म्य र पुराणहरूको कथा श्रवण गर्ने व्यवस्थापन समेत हुने गर्दछ ।

कतिपय धार्मिक व्यक्तित्वहरूले आआफ्ना घरैमा कथा सुन्ने सुनाउने व्यवस्था समेत गरेका हुन्छन्। ठूलाठूला विद्वान्, सन्त, महन्त, योगी र सन्न्यासीहरू यस अवधिमा सम्भव भएसम्म एकै ठाउँमा बस्ने गर्दछन् र आफ्ना आध्यात्मिक उपदेश प्रदान गर्ने गर्दछन्।

चतुर्मासाको अवधिमा केही तीर्थस्थलहरूमा बाहेक अन्य तीर्थस्थलको तीर्थयात्रा पनि बन्द हुन्छ । यस अवधिमा वृन्दावन, बाबाधाम, बद्रीनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, दूधकुण्ड आदि तीर्थको तीर्थाटन गर्ने परम्परा पनि छ । समग्रमा आध्यात्मिक र धार्मिक दृष्टिले चतुर्मासा अवधिको ठूलो महत्त्व छ ।

उपत्यकाका चार नारायण, बूढानीलकण्ठका साथै देशभरका नारायण मन्दिरमा आज भक्तजनको विशेष भीड लाग्ने गर्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म तुलसीको हवन गर्न हेराउनु नपर्ने धार्मिक मान्यता छ । त्यसपछि हवन (होम)जुरेका दिनमात्र तुलसी पूजा उद्यापन गर्न हुने विधि छ । यसरी चार महिने तुलसी पूजा समापन हुन्छ ।

वि.सं.२०७६ कात्तिक २२ शुक्रवार ०७:२२ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...