१ मंसिर, कोरिया । इपियस अन्तर्गत कोरिया पुगेका नेपालीमध्ये सन् २००९ देखि २०१८ सम्म (नौ वर्षको अवधिमा) १४३ जना नेपालीले ज्यान गुमाएका छन् । जसमध्ये ४३ जनाले आत्महत्या गरेका थिए । यो तथ्यांक रोजगारीका लागि कोरिया पुगेका अन्य देशका नागरिक मृत्युदर भन्दा बढी भएको आइतबारको हिमाल साप्ताहिकमा कोरियाबाट किमिन्डोले लेखेका छन् । कोरियामा हाल २४ लाख २० हजार आप्रवासी कामदार रहेका छन् ।
उनको रिर्पोट अनुसार मृत्यु हुनेमा धेरैजसो गैरव्यवसायिक रोजगारी भिसा (इ–नाइन) प्राप्त गरेकाहरु छन् । उनीहरु कामदार अभावले पिल्सीरहेका कृषि फार्म र उद्योगमा कामगर्दथे । यस्ता पीडादायी मृत्यु हरेक वर्ष दोहोरिए पनि प्रवासी श्रमिक किन यस्तो कदम उठाउँछन् भन्नेमा दक्षिण कोरियाली सरकार अनभिज्ञ रहेको छ ।
कोरियाको योन्से विश्वविद्यालयका अनुसन्धानकर्ता सियो सियोनयङका अनुसार रोजगारी अनुमति प्रणाली अन्तर्गत कोरिया पुगेका नेपाली कामदारहरु धेरैजसो उच्च शिक्षा हासिल गरेको देखिन्छ । उनी भन्छन्–तर, कोरिया आएपछि उनीहरुले जनशक्तिको वरियतामा आफूलाई तल्लो तहको श्रमिकको रुपमा पाउँछन् । यसले सिर्जना गर्ने तनाव सहन नसकेर अन्तत ः उनीहरुले आत्महत्या गरेको हुनसक्छ ।’
त्यस्तै श्रम अधिकार समुह तथा स्वास्थ्य कार्यकर्ताहरु आत्महत्याको दर किन बढ्दो छ भन्ने बारेमा पत्ता लगाउन गरिएको स्थलगत अनुगमनमा आत्महत्या गर्नुपर्नेमा मख्यत ४ कारणहरु औल्याएका छन् । उनीहरुको अनुगमनमा कोरियामा काम गर्ने अपेक्षा र वास्तवीकताबीचको खाडल, कम्पनी परिवर्तन गर्न नपाउनु, परिवारको ठूलो अपेक्षा र नेपालमा बिग्रिएको सम्बन्ध रहेको थियो ।
उक्त अनुगमनमा सोल शिनमुन पत्रिका, ग्रिन हस्पिटल तथा प्रवासी युनियनले गत अगस्तमा नेपालका १४१ कामदारसँग स्थलगत अनुगमन गरेर कुराकानी गरेका थिए ।
वि.सं.२०७६ मंसिर १ आइतवार १७:४० मा प्रकाशित






























