२ मसिंर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले एक इन्च भूमि पनि मिचिन नदिने बताएका छन् ।
नेपालको कालापानी क्षेत्रसमेत समेटेर भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साबारे विरोध भएरहेका वेला पहिलोपटक उनले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका हुन्् । राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कूटनीतिक पहलबाट भारतसँगको सीमा समस्या सुल्झाउने बताए । उनले नेपाल– भारत सीमा विवाद नयाँ नभएको पनि जिकिर गरे ।
‘भारतले नक्सा सच्याएर मात्र हुँदैन । मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्छ । यसका लागि सधैँ तयार छौं,’ प्रधानमन्त्री ओलीले भने, । नाकाबन्दीको समयमा भारतसँग आफू नझुकेको स्मरण गर्दै उनले भने, ‘हामी हाम्रो छिमेकीसँग संवादबाट समस्या समाधान गर्न तयार छौं । इतिहासले देखाइसकेको छ , यो सरकार राष्ट्रवादी छ ।’ भारतीय अतिक्रमणविरुद्ध देश एक ढिक्का हुनु सकारात्मक भएको उनले बताए । सोमबारको नयाँ पत्रिकाबाट
वि.सं.२०७६ मंसिर २ सोमवार ०७:५० मा प्रकाशित






























