१० मंसिर, काठमाण्डौं । नेपाली कांग्रेसले भारतले जारी गरेको राजनीतिक नक्सा र त्यसको विरुद्धमा सरकारले गम्भीर कुटनैतिक पहल नगरेको बताएको छ ।
नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माद्धारा मंगलबार जारी विज्ञप्तिमा नेपालको भूमि आफ्नो नक्सामा समावेश गर्दै भारतले नक्सा जारी गरेको एक महिना वितिसक्दा पनि सरकारले त्यसबारेमा कुनै पनि गम्भीर पहल तथा राजनैतिक संवाद नगरेको आरोप लगाइएको छ ।
वलियो राष्ट्रिय एकताको साझा अभिमतलाई नेतृत्व गर्न र परिणाम हासिल गर्ने ढंगले सदुपयोग गर्न यसबीचमा सरकारले अयोग्यता प्रदर्शन गरेको र त्यसकारण पनि शंका उब्जनु स्वभाविक रहेको बताउँदै कांग्रेसले फेरि पनि दृढ ढंगले सरकारलाई साथ दिने प्रतिबद्धता जनाएको उक्त विज्ञप्तिमा जनाइएको छ ।
यस्तो छ, प्रवक्ता शर्माद्धारा मंगलबार जारी गरिएको प्रेस वक्तव्य
कालापानीः विषयान्तर होइन, परिणाम हासिल गर्ने पहलकदमी गर।
(१) हाम्रो देशको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा गाँसेर भारत सरकारले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दैछ । घटना लगत्तै नेपाली कांग्रेसले गम्भीर विमति त प्रकट गर्याे नै । यो अवधिमा ती भू–भागबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता समेत निर्माण भएको छ ।
(२) तर यो महिना दिनको अवधिमा सरकारले न त गम्भीर कुटनैतिक पहल गरेको सुनिएको छ न त उच्चस्तरीय राजनैतिक संवाद गरेको देखिएको छ । केवल प्रतिक्रिया मात्रै जनाएर सरकारको कर्तव्य पूरा हुन्न । बलियो राष्ट्रिय एकताको साझा अभिमतलाई नेतृत्व गर्न र परिणाम हासिल गर्ने ढंगले सदुपयोग गर्न यस बीचमा सरकारले अयोग्यता प्रदर्शन गरेको छ । त्यसैले अनेक आशंका उब्जनु स्वभाविक हो । तर पनि नेपाली कांग्रेस फेिर पनि दृढ ढंगले सरकारलाई साथ दिन प्रतिबद्ध छ ।
(३) राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ भन्ने नेपाली कांग्रेसको प्रष्ट मान्यता छ । त्यही मान्यताको जगमा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गर्न नेपाली कांग्रेसको नेतृत्वमा देशले सफलता हासिल गर्याे । कालापानी प्रकरणमा परीक्षाको यहि दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको कांधमा आइपुगेको छ । तर सबै दल र सम्पूर्ण नेपालीको साथ रहँदा पनि गम्भीर पहलकदमी नहुनु दुःखद त छ नै प्रश्न पनि उब्जिएको छ हिजोको राष्ट्रवादको उग्र भाव कृत्रिम थियो आज के प्राकृतिक स्वरुपमा लुलो राष्ट्रवाद प्रकट भएको हो ?
(४) नेपाली कांग्रेस फेरी पनि सरकारलाई सार्वजनिक रुपले अपिल गर्न चाहन्छ देशको वास्तविक नक्सा सार्वजनिक गर्न ढिलाइ किन ? गम्भीर कुटनैतिक पहलकदमी गर्न अलमल किन ? उच्च स्तरीय राजनैतिक संवाद मार्फत परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन शासकीय योग्यता अभाव किन ?
(५) सार्वजनिक रुपले पुनः हामी दोर्होयाउन चाहन्छौं कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रा अविभाज्य भूमी हुन् । त्यहाँबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ । कुटनैतिक र राजनैतिक पहल गरिनुपर्छ र यसका लागि नेपाल सरकारलाई नेपाली कांग्रेसको दृढ साथ रहनेछ ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
२०७६ मंसिर १० गते
वि.सं.२०७६ मंसिर १० मंगलवार १८:२१ मा प्रकाशित






























