११ मंसिर, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कार्यकारी अध्यक्ष भएसँगै पार्टीलाई गति दिँदै अगाडि बढाउने क्रममा मुख्यरुपमा उनका अगाडि चार चुनौती थपिएका छन् ।
पार्टीको मंसिर ४ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारीको जिम्मा दिएपछि उनको अध्यक्षको नयाँ भूमिकालाई विभिन्न कोणबाट अथ्र्याउन थालिएको छ । सचिवालयको बैठकले केपी ओलीलाई प्रधानमन्त्रीको हैसियतले सरकारका काममा केन्द्रीत हुने जिम्मा र प्रचण्डलाई पार्टी संगठनको नेतृत्व दिएसँगै प्रचण्डमाथि यी चुनौतीहरु थपिएको विश्लेषण गरिएको छ ।
यी हुन् चार चुनौती
तत्कालिन एमालेभित्र ओली समूह शक्तिसाली थियो । नेकपा बनिसकेपछि पनि ओली वरिपरि शक्तिशाली समूह छ । यो समूहलाई व्यवस्थापन गर्न प्रचण्डलाई पहिलो चुनौती हुनेछ । त्यसकारण पनि प्रचण्डले अध्यक्ष ओलीकै विस्वास जित्नुपने हुन्छ ।
दोश्रो चुनौतीका रुपमा प्रचण्डका सामु माधव नेपाल र अरु नेताहरुसँगको सहयात्रा देखिएको छ । तत्कालीन एमालेमा ओलीपछिको ठूलो समूह चलाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डको सम्बन्ध सुमधुर नै छ । तर, नेपाललाई किनारामा पर्ने ओलीको स्वार्थमा प्रचण्ड पनि सहयात्री बनेको चर्चा नेपाल समूहमा छ । कार्यकारी अध्यक्ष भइसकेपछि पनि ओलीकै इच्छा अनुसार प्रचण्ड पनि चल्न थाले भने नेपाल टाढिन सक्ने जोखिम छ ।
तेश्रो चुनौतीका रुपमा पूर्व एमाले कार्यकर्तालाई विश्वासमा लिनसक्नुपर्ने हुन्छ । युद्धको पृष्ठभूमिबाट आएका प्रचण्डका लागि ठूलो चुनौती तत्कालिन एमाले सम्बद्ध कार्यकर्तालाई मिलाएर लैजानु हो । सामाजिक जीवनमा घुलमिल भएका र शान्तिपूर्ण प्रतिश्प्रर्धाबाट आएका पूर्वएमाले सम्बद्ध नेता कार्यकर्ता अहिले पनि युद्धको पृष्ठभूमिका नेताहरुलाई स्वीकार्न धेरै ठाउँमा गाह्रो परेको देखिएको बुधबारको नयाँपत्रिका दैनिकमा कृष्ण गिरीले लेखेका छन् ।
त्यस्तै प्रचण्डका लागि चौथो चुनौतीका रुपमा समिति प्रणालीमा पार्टीलाई लैजानुपर्ने देखिन्छ । पार्टी एकताको १८ महिनासम्म बस्न नसकेको केन्द्रीय कमिटीको बैठक डाक्नु नै प्रचण्डका लागि सुरुमै संगठन सञ्चालनको मुख्य चुनौतीका रुपमा देखिन्छ । विधानमा व्यवस्था भए अनुसार अहिले सम्म ६ पटक बसिसक्नु पर्ने बैठकलाई उनले नियमित बनाउनुपर्ने देखिन्छ ।
वि.सं.२०७६ मंसिर ११ बुधवार ०९:३२ मा प्रकाशित






























