११ मसिंर, कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानीमा रातिको समयमा मुसलधारे वर्षापछि भएको डुबानमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको नगरका उच्च अधिकारीहरूले बताएका छन् ।
किन्सासा शहरमा सोमबार रातिको वर्षापछि भएको डुबानका कारण शहरका विभिन्न भागमा वस्तीहरू जलमग्न भएका र स्थानीय समयअनुसार मङ्गलबार दिउँसोसम्ममा कम्तीमा ३६ जना मृत भेटिएका छन् ।
अधिकारीहरूले शहरका कतिपय बस्ती अकस्मात डुबानमा परेकाले तत्काल उद्धारका प्रयास विफल हुँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
किन्सासा क्षेत्रका आन्तरिक (प्रान्तीय) मामिलामन्त्रीलाई उद्धृत गर्दै किन्सासाका उप–प्रशासक नेरोन एमबुनगुले भने, “मङ्गलबारसम्म ३६ जना मृत भेटिएका छन् ।
केही व्यक्ति परिवारको सम्पर्कमा नआएपछि उनीहरूको खोजी जारी रहेको छ ।” मुसलधारे वर्षाका कारण ठूलो क्षेत्र डुबान भएका कारण थप कैयौँ व्यक्ति पनि वेपत्ता भएकाले उनीहरूलाई जीवित उद्धार गर्नसकिने सम्भावना क्षीण रहेको स्थानीयहरूले बताए ।
वि.सं.२०७६ मंसिर ११ बुधवार ०९:१८ मा प्रकाशित





























