back
CTIZAN AD

बढ्न थाले मकवानपुरगढीमा पर्यटक

वि.सं.२०७६ मंसिर १५ आइतवार

801 

shares

१५ मङ्सिर,हेटौँडा । केही वर्षअघिसम्म एकरदुई जना मात्र आन्तरिक पर्यटक आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक आउन थालेका छन् । गत वर्ष मकवानपुरगढी विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आएपछि तथा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएपछि यस क्षेत्रमा पर्यटकको आकर्षण बढेको जनाइएको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको नियमित भ्रमण, पक्की र फराकिलो सडक आदि पनि यहाँ पर्यटकलाई आकर्षित गराउने कारण भएको छ । देशकै सबैभन्दा ठूलो गढीको रूपमा रहेको मकवानपुरगढी तथा सेन राजाहरुले २०९ वर्ष शासन सञ्चालन गर्दा मकवानपुर राज्यको दरबारको रूपमा रहेको मकवानपुरगढी दरबार क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा चिनिन थालेको छ ।

चिसो मौसम शुरु भएसँगै ऐतिहासिक मकवानपुरगढी दरबार घुम्ने र अध्ययन गर्नेहरुको सङ्ख्या ह्वात्तै बढेको हो । सुन्दर ऐतिहासिक धरोहर, वंशगोपाल मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर र आकर्षक गुम्बा एवं स्तूपलगायतका धार्मिकस्थलहरु, रमणीय वातावरण, यातायातको सहज व्यवस्था, वनभोज खान पर्याप्त स्थान तथा शान्त वातावरणलगायतका कारण आन्तरिक तथा बाह्य पर्यटकसमेतको रोजाइमा मकवानपुरगढी पर्न थालेको हो ।

एघारौँ शताब्दीमा नेपालको पहिलो सेनवंशी राजा तुलासेनले निर्माण गरेको तथा विसं १६१० देखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले स्थापना गरेर २०९ वर्षसम्म विशाल मकवानपुर राज्यको राजधानी रहेको मकवानपुरगढी दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । गढीमा मकवानपुर, ललितपुर, काठमाडौँ, सिन्धुली, चितवन तथा प्रदेश नं २ का विभिन्न जिल्लाका आगन्तुक तथा केही विदेशी पर्यटकसमेत आउन थालेका छन् । विगतमा इतिहासमा रुचि भएका केही व्यक्तिको सामान्य खालको आवतजावत मात्र रहने मकवानपुरगढी दरबार क्षेत्रमा आजभोलि आन्तरिक पर्यटकको भीड थामी नसक्नु भएको बताउँछन् मकवानपुरगढी–२ का सदस्य तथा स्थानीय खाजाघर सञ्चालिका सावित्री विश्वकर्मा । उनका अनुसार अचेल गढी दरबार हेर्न र वनभोज गर्न आउनेको सङ्ख्या दैनिक एक हजारभन्दा माथि छ ।

पक्की र स्तरीय सडकमार्ग तथा प्रचार–प्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेको सङ्ख्या बढेको हुनसक्ने मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँ बताउँछन् । उनका अनुसार हेटौँडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराजपथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौँबाट सिधा आउन चाहनेहरुले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्ने उहाँको भनाइ छ । चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिङ्गन कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश गर्न सकिन्छ । विगतमा ठूलो गढीमा मात्रै पर्यटक पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुराँसले ढपक्कै हुने ढुङ्गेगढीसमेत पर्यटकले भरिन थालेका छन् ।

प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुङ्गेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिन बताउँछन् । विगतमा भग्नावशेषमा परिणत भएको मन्दिर अहिले पुनःनिर्माणपछि आकर्षक भएको छ । प्रदेश सरकारको करीब रु ४० लाख लगानी र गाउँपालिकाको थप लगानीमा मन्दिरको पुनःनिर्माण गरिएको गाउँपालिका अध्यक्ष हुमागाईँले जानकारी दिए ।

मकवानपुरगढी दरबार प्रदेशको महत्वपूर्ण निधि भएकाले यसको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारको साथ सहयोग रहने बताउँछन्, प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल । उहाँका अनुसार प्रदेशका सबै गढीहरुको संरक्षण र प्रचारप्रसार गर्नु जरुरी छ ।

इतिहास
मुसलमानी आक्रमणबाट बच्न भारतबाट भागेर आएका सेनवंशीय राजखलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ट प्रमाण पुग्दैन । तर पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उद्धृत गर्दै डा साफल्य अमात्यको २०२७ मा प्रकाशित प्रतिवेदनले एघारौँ शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर उल्लेख गरेको छ । कतिपय इतिहासकारहरुका अनुसार पनि नेपालका सेन वंशहरुको उद्गमस्थल मकवानपुर नै हो । पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शिलालेखमा पाइएकालाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरुको वंशावलीअनुसार विसं १५०० तिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको शुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ ।

तर मकवानपुरको अध्ययन गर्न विसं २०२७ मा पुरातत्व विभागका अभिलेख विशेषज्ञ डा अमात्यको नेतृत्वमा बनेको एक सरकारी टोलीले यहाँको वस्तुस्थिति, शिलालेख, ताम्रपत्र आदिको अध्ययन गरेर सरकारलाई बुझाएको प्रतिवेदनमा तुला सेनले मकवानपुरगढी निर्माण गरेर राज्य सम्हालेको उल्लेख छ । प्रतिवेदनले एक प्राचीन वंशावलीलाई उद्धृत गर्दै तुला सेनपछि यस गढीमा दलभञ्जन सेन, गजपति सेन, चन्द्र सेन, रुद्र सेन राजा भएको उल्लेख गरेको छ । यो माथि उल्लेख गरिएको पाल्पाली वंशलतामा मेल त खान्छ तर केही नाममा फरक र तिथि मितिमा एकरूपता नहुँदा अधिकांश इतिहासकारहरुको मत बाझिएकाले ठोस र आधिकारिक धारणा निर्माण हुनसकेको छैन ।

अधिकांश इतिहासकारहरुको मतैक्य भने मुकुन्द सेनले राजकाज त्यागी सन्न्यास धारण गर्ने क्रममा विशाल सेन राज्यलाई आफ्ना चार भाइ छोरा र दुई भाइ नातिहरुलाई बाँडिदिएपछि कान्छा छोरा लोहाङ सेनको भागमा मकवानपुर पर्न गयो । विसं १६१० मा लोहाङ सेनले आफ्ना पुर्खा तुला सेनले निर्माण गरेको किल्ला रहेको मकवानपुरगढीलाई नै आफ्नो राजधानी बनाएर स्वतन्त्र मकवानपुरको राजा भए ।

लोहाङ सेनसहित मकवानपुरमा राघव सेन, हरिहर सेन, शुभ सेन, माणिक सेन, हेमकर्ण सेन र दिग्बन्धन सेन गरी सात पुस्ताले २०९ वर्षसम्म शासन सञ्चालन गरेको पाइन्छ । विसं १८१९ भदौ ९ गते गोरखाका राजा पृथ्वीनारायण शाहको फौजसँग पराजित भएपछि मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन भागेर सिन्धुलीगढी हुँदै बङ्गाल पुगेर त्यहाँका बादशाह मीर कासिमसँग गुहार मागेको र बादशाहले गोरखालीविरुद्ध लड्न युरोपेली मूलका गुरगीन खाँको नेतृत्वमा अत्याधुनिक हातहतियारसहित तीन हजारभन्दा बढी सेना पठाएको इतिहासकारहरु बताउँछन् ।

सो फौज माघेसङ्क्रान्तिकै दिन मकवानपुर फाँटमा प्रवेश गरी लुटपाट मच्चाएको र नौ दिनसम्म कब्जा जमाएर बसेको बताइन्छ । गोरखाली सेनाले भने भित्रभित्रै युद्धको तयारी गरेर माघ ९ गते राति उनीहरु बसेको शिविरलाई चारतिरबाट घेरा हाली आक्रमण गरेर भयङ्कर युद्ध गरेको इतिहासका जानकार तथा मकवानपुरगढीका खोजकर्ता केदार न्यौपाने बताउँछन् । उनका अनुसार भोलिपल्ट अर्थात् माघ १० गतेसम्ममा एक हजार ७०० भन्दा बढी बङ्गाली सेनाहरु मारिएका थिए भने सेनापति गुरगीन खाँसहित बचेका सेनाहरु भागेका थिए । बङ्गाली सेनाको प्रतिकार गर्न भन्दै एक हजार १०० सेना लिएर आउँदै गरेका पृथ्वीनारायण शाह आउनुअघि नै ८०० जनाको सङ्ख्यामा रहेका गोर्खाली सेनाले आफूभन्दा झण्डै चार गुणा ठूलो फौजलाई पराजित गरी ठूलो परिमाणमा हातहतियार जफत गरेको थियो ।
रिपेश दाहाल (रासस)

वि.सं.२०७६ मंसिर १५ आइतवार १९:०४ मा प्रकाशित

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...