६ पुष, काठमाण्डौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ वर्ष ३ महिना मलेसियाको रोजगारी बन्द गरीदिँदा राष्ट्रलाई ४ अर्ब रुपैँया घाटा लागेको छ । तत्कालीन मन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गते मलेसियाको बैदेशिक राजगारी बन्द गराएका थिए । त्यसयता १ लाख ५० हजार श्रमिकहरु मलेसिया जान रोकिए भने ४ अर्ब रुपैँयाको विप्रेषण स्वदेश भित्रिन पाएन । नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४\०७५ मा व्यक्तिगत र संस्थागत गरि १ लाख ४ हजार २ सय ७ युवा मलेसियाको रोजगारीमा गएका थिए ।
यो संख्या ०७५ को पहिलो चौमासिक सम्म घटेर २ हजार ४ सय ४७ मा सिमित भएको छ । राष्ट्र बैंकका अनुसार मलेसियाको रोजगारी ९४ प्रतिशतले घटेको छ । मलेसियाको रोजगारी घट्दा त्यहाँबाट नेपाल आउने विप्रेषण पनि घटेको छ । वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ्गका अनुसार यो १५ महिनामा डेढ लाख मानिसले रोजगारी गुमाएका छन् । र तिनिहरूबाट प्रवाह हुनुपर्ने करिव ४ अर्ब रुपैँया देशले प्राप्त गर्न सकेन ।
पछिल्लो पटक देशमा विप्रेषण आप्रवास ऋणात्मक हुनुमा पनि मलेसिया प्रकरण मुख्य रहेको गुरुङ्गको दावी छ । यस विषयमा प्रष्ट पार्न वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न खोज्दा विभाग प्रमुख डा. भिष्म भुसालले प्रवक्ता मार्फत सूचना लिन भने । प्रवक्ता तथा सूचना अधिकारी भोलानाथ गुरागाँइले प्रविधि साखा सँग सोध्न भनेर पन्छिए । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले विप्रेषण आप्रवाह घट्नुमा मलेसिया प्रकरण पनि मूख्य रहेको बताए ।
बैंकका अनुसार एक चौमासमा १ अर्ब २१ करोड ७१ लाख ९० हजार विप्रेषण मलेसियाबाट नेपाल भित्रिन्थ्यो । यो अङ्क ०७५ जेष्ठ २ बाट ९४ प्रतिशत भन्दा बढिले घटेको छ ।
झन कठिन भयो मलेसिया
वैदेशिक रोजगारी सम्बन्धी अध्ययन गर्नेहरूका अनुसार सून्य लागत पछि मलेसिया जान झन गाह्रो भएको छ ।
मलेसिया प्रतिबन्ध अगाडी भन्दा सून्य लागत लागु भएपछि मलेसिया जान झन गाह्रो भएको । मलेसिया प्रतिवन्ध अगाडी एउटा दलाल र उसैको च्यानलबाट पैसा तिरेपछि सहज तरिकाले जान पाइन्थ्यो । अहिले सून्य लागतको नियमले गर्दा सयौँ अड्चन थपिएको डा. गुरुङ्गले बताए । एउटा दलाललाई पैसा देउ, अर्को दलालको पछि लागेर म्यानपावर आउ अनि १ लाख ५० हजार तिरेर १० हजारको बिल भरपाई लिएर आउ अहिले मलेसिया जान चाहाने युवाको लागी यो दिनचर्या नै बनेको छ ।
तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टको वर्हिगमनको एउटा कारण रहेको मलेसिया प्रकरणको सहज व्यवस्थापन नभए विप्रेषण आप्रवाह अझै घट्न सक्ने डा. गुरुङ्गको दाबी छ ।
वि.सं.२०७६ पुस ६ आइतवार १५:५८ मा प्रकाशित






























