८ पुस, हुम्ला । अत्यधिक हिमपात भएर चिसो बढी हुने भएकाले सिमानाकामा रहेका प्रहरी चौकी सदरमुकाम सिमकोट सारिएका छन् । सदरमुकाम सिमकोटभन्दा बढी हिमपात हुने भएकाले प्रहरी चौकीमा कार्यरत प्रहरीले चिसो खप्न नसकी वर्षेनी हिउँदको समय छ महिना सिमकोट सारिने गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले जानकारी दिए ।
यस्तै हिस्सामा रहेको भन्सार कार्यालयमा रहेका कर्मचारी पनि बेँसीतिर झरेका छन् । करीब आठ वर्षपछि हुम्लामा मङ्सिर महिनामै अत्यधिक हिमपात भएकाले जिल्लामा चिसो बढेको छ ।
पुस, माघ, फागुन तीन महिनामात्रै हिमपात हुने भएता पनि यो वर्ष मङ्सिरै भारी हिमपात हुँदा उत्तरी क्षेत्रका बस्तीको जनजीवन थप प्रभावित बनेको छ । यहाँ बिहान–बेलुका बढी चिसो हुनुका साथै तापक्रम माइनस १० डिग्रीमा झरेको छ ।
उत्तरी क्षेत्रमा रहेका तिल, जान, हल्जी, यारीमुचु, याङ्गारलगायतका बस्तीमा मानिसको बसोबास पातलिएको छ । उत्तरी क्षेत्रका मानिस प्रायःजसो हिउँदको समयमा चिसो छल्न र व्यापारको सिलसिलामा तराई–मधेस जाने गर्दछन् । तातो मौसम शुरु भएपछि जिल्ला भित्रने र छिमेकी राष्ट्र तिब्बतमा कामको सिलसिलामा जाने गर्दछन् ।
यस्तै जिल्लाको चङ्खेली गाउँपालिकाको टाकेनाकामा रहेको प्रहरी चौकी पनि चिसो बढेपछि बेँसीतिर झारिएको छ । जिल्लाका उच्च क्षेत्रमा रहेका व्यापारी नाकाबाट आयात हुने मदिराको आयात पनि यो वर्ष ठप्प रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।
वि.सं.२०७६ पुस ८ मंगलवार १०:१२ मा प्रकाशित






























