२२ मङ्सिर,काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित सतुङ्गलमा रहेको विष्णुदेवीको जात्रा आज सुरु भएको छ ।
प्रत्येक वर्ष मङ्सिर शुक्ल अष्टमीका दिन सुरु भई द्वादशीसम्म जारी रहनेछ । जात्रामा नवमीका दिन विष्णुदेवीको मूर्तिलाई खटजात्रा तथा स्थानीय वैष्णवी देवीको मन्दिरमा लगेर पूजा गर्ने चलन छ । विशेष बाजागाजासहित निकालिने खटजात्रामा समेत बोकाको बलि दिने गरिन्छ ।
जात्रा सातगाउँको जात्रासँग सम्बन्धित रहेको भएपनि स्थानीय कुशेगाउँ, मच्छेगाउँ, नहङ्कोट, सतुङ्गल र नैकापमा बसोबास गर्ने भक्तजनको जात्रामा सहभागिता रहन्छ ।
पाङ्गा र कीर्तिपुरका स्थानीयवासीले भने आफ्नो क्षेत्रमा फरक किसिमले जात्रा सञ्चालन गर्ने गर्दछन् । तीनथानास्थित वैष्णवी देवीको मन्दिरमा गएराति राँगाको बलि दिएर विधिविधानपूर्वक पूजा गरेपछि आज विष्णुदेवीको जात्रा गरी भोज खाने परम्परा रहेको स्थानीयवासी राजु राजोपाध्यायले जानकारी दिनुभयो ।
विष्णुदेवीको मूर्तिलाई शक्तिको प्रतीकका रुपमा पूजा गरिँदै आएको छ । सो जात्रामा सहभागी भएमा रोग–ब्याधीबाट मुक्त भई पारिवारिक सुख, समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । रासस
वि.सं.२०७३ मंसिर २२ बुधवार ०५:१८ मा प्रकाशित